माओवादी केन्द्रको महाधिवेशनः समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिदै

काठमाडौं । नेकपा माओवादी केन्द्र महाधिवेशनमा आज समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरिने भएको छ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा हिजो छलफल गरेपछि आएका निष्कर्षलाई आज बन्दसत्रमा पेश गरिदै छ । दिउँसो १ बजेदेखि निष्कर्ष सुनाउने तयारी गरिएको छ ।

२५ वटा समूह बनाएर माओवादी केन्द्रको आठौं महाधिवशेनमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान संशोधन प्रस्तावमाथि छलफल भएको छ। एउटा समूहलाई निश्कर्ष सुनाउन १५ मिनेट समय दिइने बताइएको छ।

नेता राम कार्कीले फरक मतसहित प्रतिवेदन पेश गर्नुभएको छ । कार्कीको प्रतिवेदनमाथि पनि महाधिवेशनका प्रतिनिधिहरुले धारणा राख्नेछन्। माओवादीको महाधिवेशन आइतबार सुरु भएको थियो।

१७ गतेसम्म चल्ने महाधिवेशले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्षमा फेरि पनि प्रचण्डको विकल्प देखिएको छैन। महासचिवमा नेताहरुबीच प्रतिस्पर्धा देखिएको छ। कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा, पम्झा भुसाललगायतका नेताहरुले महासचिवमा आकांक्षा व्यक्त गर्नुभएको छ ।

गुरुङले पेश गरेको विधान संशोधन प्रस्तावमा उपाध्यक्ष सातजना, महासचिव एक, उपमहासचिव दुई र तीनजना सचिव राख्ने भनिएको छ। बन्दसत्र सकिएपछि नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रले जनाएको छ।

Back to top button