रक्षामन्त्रालय एकैपटक मन्त्री र सचिवविहीन, सचिव बढुवामा चारजनाको प्रतिस्पर्धा

काठमाडौं । रक्षामन्त्रालयका सचिव वेगेन्द्रराज शर्माले ५८ वर्षे सेवा अवधिका कारण आजदेखि अनिवार्य अवकाश पाउँदैहुनुहुन्छ । उहाँको अवकाशसँगै रक्षा मन्त्रालय राजनीतिक र प्रशासनिक नेतृत्वविहीन बन्ने भएको छ ।

कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षामन्त्रीबाट डा. मिनेन्द्र रिजालले केही दिनअघि राजीनामा दिनुभएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को रक्षामन्त्री नियुक्त नगरी सो मन्त्रालय आफ्नै मातहतमा राख्नुभएको छ । आजबाट सचिव पनि खाली भएको हो ।

यस्तै, २०७३ साल पुष १४ गते नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी सहसचिवबाट राजपत्रांकित विशिष्ट श्रेणी अर्थात सचिवमा बढुवा हुनुभएका शर्मा सचिव हुनुभएको आज ५ वर्ष पुगेको छ । उहाँले सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनुभएको हो ।

निजामती सेवा ऐनअनुसार नेपाल सरकारको राजत्रपांकित विशिष्ट श्रेणी अर्थात सचिवमा पाँच वर्ष सेवा गर्न पाइन्छ । उहाँले अनिवार्य अवकाश पाएसँगै एक सचिव पद रिक्त भएको छ ।

यस्तै,रिक्त रहेको सचिव पदमा बढुवाका लागि ३ वरिष्ठ सहसचिव प्रतिस्पर्धामा देखिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बढुवा शाखाका अनुसार वरिष्ठ सहसचिव कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला सचिव बढुवाको प्रतिस्पर्धामा हुनुहुन्छ ।

सहसचिव दंगालको नाम यसअघि दुईपटक र निरौलाको नाम एकपटक सचिव बढुवाका लागि बढुवा सिफारिस समितिले मन्त्रिपरिषद्मा सिफारिस गरिसकेको छ । तर, एक नम्बरमा बढुवाका लागि सिफारिस हुन लागेका राउतको भने यो पहिलोपटक हो ।

राउतले तालिम पूरा नगरेका कारण यसअघि उहाँको नाम बढुवाका लागि एकपटक पनि सिफारिस नभएको बढुवा सिफारिस समितिको सचिवालयले जनाएको छ ।

यस्तै , बढुवाको मुखैमा पुग्नुभएका सहसचिव शंकरप्रसाद खरेलले अनिवार्य अवकाश पाउने हुनुभएको छ । यसअघि तालिम नलिई बसेका सहसचिव कृष्णबहादुर राउतले यसपटक तालिम लिएर बढुवाको लाइनमा उभिएपछि उहाँ सचिव बढुवाका लागि सिफारिस नहुने भएको हो । यदि राउतले तालिम नलिएको भए खरेल यसपटक तेस्रो नम्बरमा सचिव बढुवाका लागि सिफारिस हुने सूचीमा थिए ।

यसअघि मन्त्रिपरिषद् बैठकले दोस्रो वा तेस्रो नम्बरमा सिफारिस भएका र अवकाश नजिक पुगेकालाई सद्भावनाको दृष्टिकोणबाट थोरै समयका लागि भए पनि सचिवमा बढुवा गर्दै आएको थियो । त्यसैले पनि खरेल यसपटक सिफारिसमा परेको भए बढुवा हुने सम्भावना बलियो थियो ।

यद्यपि, उहाँको कार्यकाल २० दिनमात्रै हुन सक्थ्यो । यसपटक पहिलो नम्बरमा बढुवा हुन लागेका सहसचिव राउतले बेलैमा तालिम लिएको भए कर्णाली प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा रहेका सचिव राजकुमार श्रेष्ठभन्दा अघि नैसचिवमा बढुवा भइसक्नुहुने थियो ।

यति मात्र नभइ उहाँभन्दा वरिष्ठ सहसचिव विरेन्द्रकुमार यादव र लक्ष्मीकुमारी बस्नेतले पनि तालिम लिएको भए राउतभन्दा पनि पहिले नै सहसचिव यादव र बस्नेत सचिवमा बढुवा भइसक्नुहुने थियो।

तालिम नलिएर बसेका सहसचिव यादवको सेवा अवधि २०८९ असार १५ गतेसम्म रहेको छ । अहिले नै तालिम लिएर वरिष्ठताका आधारमा सचिवमा बढुवा हुनुभएका यादव ५२ वर्षकै उमेरमा अनिवार्य अवकाशमा जानुहुने थियो ।

यस्तै सहसचिव बस्नतेको सेवा अवधि पनि २०८८ मंसिर २२ गतेसम्म छ । अहिले नै तालिम लिएर सचिवमा बढुवा भएको भए सहसचिव बस्नेत ५३ वर्षको उमेरमा अनिवार्य अवकाशमा जानुहुने थियो ।

यस्तै राउतको सेवा अवधि २०९२ चैत ४ गतेसम्म छ । राउत बढुवाको लाइनमा आइसकेको उहाँ अब बढुवा भए पनि ४९ वर्षकै उमेरमा अनिवार्य अवकाशमा जाने हुनुभएको छ ।

सहसचिव राउत यसअघि नै सचिवमा बढुवा भइसक्नुपर्ने भए पनि उहाँले तालिम पुरा नगरेकै कारण सचिव बढुवाका लागि सिफारिस हुन सकेको छैन । राउतभन्दा जुनियर सहसचिव राजकुमार श्रेष्ठ र रविलाल पन्थ यसअघि नै सचिवमा बढुवा भइसक्नुभएको छ ।

श्रेष्ठ कर्णाली प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारीमा हुनुहुन्छ भने पन्थ गण्डकी प्रदेश सरकारको प्रमुख सचिव बन्नुभएको छ । सहसचिव राउतका समकक्षीका अनुसार राउतले निजामती सेवाको कार्यकाल लम्ब्याउनका लागि तालिम नलिएर बसेको बताउनुभएको छ । तर, सहसचिव राउनले भने तालिम लिइरहेको बेला चिवमा कोरोना संक्रमण भएपछि बिचैमा तालिम छुटेकाले ढिलाई भएको बताउनुभयो ।

राउतमात्रै नभएर तालिम नलिएकै कारण सहसचिव बिरेन्द्रकुमार यादव र लक्ष्मीकुमारी बस्नेत पनि सचिव बढुवाका लागि सिफारिस हुन सक्नुभएको छैन् । यादव र बस्नेत राउतभन्दा वरिष्ठ सहसचिव हो ।

यस्तै अर्का वरिष्ठ सहसचिव कमलप्रसाद पोखरेल पनि बढुवा हुन सक्नुभएको छैन् ।

Back to top button