राजा वीरेन्द्रको ७७औं जन्मजयन्ती : राजेन्द्र लिङ्देनले लिनुभयो राजसंस्थाको पक्ष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको आवश्यक्ता झनै बढेर गएको बताउनुभएको छ । अध्यक्ष लिङ्देनले सिक्किम विलय भएको दृष्टान्त पेश गर्दै राजसंस्था नभए नेपाल पनि विलय भएर जाने खतरासमेत औंल्याउनुभयो।

स्वर्गीय राजा वीरेन्द्रको स्मृतिमा आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजसंस्था नहुँदा २०३२ सालमा सिक्किम देश विलय भएको र नेपालमा पनि अहिले त्यो खतरा बढेर गएको बताउनुभयो ।

यस्तै,अध्यक्ष लिङ्देनले देशलाई अन्य देशको खतराबाट टार्नसमेत राजसंस्था अनिवार्य रहेको तर्क गर्नुभयो । उहाँले राजा वीरेन्द्रले देशलाई अन्य देशबाट झुक्न नदिन २०४६ सालमा राजनीतिक दलका नेताहरूसँग सम्झौता गरेर संवैधानिक राजाको रूपमा आफूलाई उभ्याएको पनि बताउनुभयो ।

​उहाँले स्वर्गीय राजा वीरेन्द्र जनप्रेमी र देशभक्त राजा भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘म केटाकेटी नै थिएँ–२०३२ सालतिर होला। जब सिक्किममा राजसंस्थाको अन्त्य भयो। जनताका प्रतिनिधिहरुले भन्नेले त देशै भारतमा बिलाइदिए। ओहो, राजा भएन भनेत देशै सकिने रहेछ, जब मेरो बाल मस्तिष्कमा पर्‍यो।

राजाको अभावमा, राजसंस्थाको अभावमा हाम्रो पनि देश कुनै पनि बेला त्यस्तो खतरामा पर्न सक्छ भन्ने मलाई लागेको थियो। त्यसबेला भन्दा अझ मैले अहिले बढी बुझ्छु। ए, राजा हट्यो, सिक्किम पनि सकियो। त्यसबाट मलाई के लाग्यो भने हामी कोहीभन्दा, हामी राजनीतिक दलका नेताभन्दा, कुनै अरू छुट्टै नागरिकभन्दा, हामी सबैभन्दा राजा देशभक्त हुन्छन् भन्ने कुरा चाँहि प्रमाणित भयो भन्ने लाग्छ मलाई।’

अध्यक्ष लिङ्देनले राजनीतिक दलका नेताहरु भन्दा राजा बढी देशभक्त हुन्छन् भन्ने कुरालाई राजा वीरेन्द्रले प्रमाणित गरेको बताउनुभयो।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री विपिन कोइरालाले पनि मुलुकको हितका लागि राजा र राजसंस्था स्थापित गरेर जानुको विकल्प नरहेको बताउनुभयो। उहाँले स्वर्गीय राजा वीरेन्द्रको देशभक्ति र जनहितकारी कामको स्मरण पनि गराउनुभयो ।

Back to top button