नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन आज देखी रोक्यो

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीको पठनपाठन बुधवारदेखि रोकेको छ ।

जिल्ला प्रशासन कर्यालय मोरङले पुस ११ गतेदेखि पठनपाठन गर्न निर्देशन दिएपछि पठनपाठन शुरू गरेको मेडिकल कलेजले २ दिन पढाएर शुल्क नबुझाएको भन्दै बुधवारदेखि पठनपाठन रोकेको छ ।पुस ११ गतेबाट कक्षा शुरू गरे पनि १२ र १३ गते सेक्युरिटी गार्ड राखेर पठनपाठन गराइएको एमबीबीएसमा भर्ना भएका एक विद्यार्थीले बताउनु भयो ।

बुधवारदेखि अतिरिक्त शुल्क नबुझाउनेको पठनपाठन रोकिएको र सबै शुल्क बुझाउनेलाई मात्र पढाइएको विद्यार्थीले जनाएका छन् ।कलेजमा भर्ना भएका ९६ विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृत्तिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई कलेजको माथिल्लो भवनका छुट्टै लगेर पढाएको एक विद्यार्थीले गुनासो गरेका छन् ।

ती विद्यार्थीले भन्नुभयो, ‘कलेजका प्रिन्सिपल रामहरि घिमिरेले अतिरिक्त शुल्क नबुझाउनेलाई कलेजले पढाउन नसक्ने जानकारी गराएर पठनपाठनमा रोक लगाउनुभयो । शुरूमा प्रशासन फाँटका एक जना कर्मचारीले थर्काउँदै अतिरिक्त शुल्क नबुझाए पठनपाठन हुँदैन भन्नुभयो । शिक्षा आयोगले कलेजको सम्बन्धन खारेज गरिदिए, एमबीबीएस पठाउन बन्द गरौंला तर अतिरिक्त शुल्क विना अब पढाउन सकिँदैन भन्नुभयो ।’

नोबेल मेडिकल कलेजमा एबीबीएसमा भर्ना भएका विद्यार्थी र अभिभावकले पुस ५ गतेदेखि अतिरिक्त शुल्क नबुझाउने भनेर आन्दोलन गरिरहेका छन् ।

Back to top button