महिला भलिबल टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं । एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोली आज स्वदेश फर्किएको छ। विमानस्थलमा खेलाडीहरुलाई फुलमाला र अबिरले भव्य स्वागत गरिएको छ ।

हिजो मात्र मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको छ । उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख दिने निर्णय गरेको हो।

यस्तै बैठकले २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गर्ने निर्णय गरेको छ। बंगलादेशको ढाकामा मंगलबार सम्पन्न प्रतियोगितामा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएर लगातार दोस्रोपटक उपाधि उचालेको थियो । नेपालले यसअघि सन् २०१९ मा बंगलादेशमै सम्पन्न प्रतिायोगिताको पहिलो संस्करणको उपाधि पनि जितेको थियो ।

टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्के, महासचिव जितेन्द्र चन्दलगायत संघका पदाधिकारीले स्वागत गर्नुभएको हो ।

Back to top button