माओवादी केन्द्रको महाधिवेशनमा विवादः समाधानका लागि स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको राजधानीमा जारी आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्दसत्रमा विवाद भएको छ ।

प्रदेश दुईमा नेता गिरिराजमणि पोखरेल र उहाँको समूहको भूमिकामाथि प्रश्न उठाउँदै पोखरेललगायतमाथि कारबाहीको माग भएपछि विवाद उत्पन्न भएको हो ।

कमलादीस्थित बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा हिजो प्रदेश २ का टोली नेता रहेका सत्यनारायण भगतले गिरिराजमणि पोखरेललगायतमाथि कारबाही हुनुपर्ने आवाज उठाएपछि विवाद भएको हो ।

त्यस विषयमा असन्तुष्टि जनाउँदै पोखरेल आजको बन्दसत्रमै अनुपस्थित रहनुभएको छ । बन्दसत्र सञ्चालन अध्यक्षमण्डलका सदस्य समेत रहेका पोखरेल बन्दसत्रमा अनुपस्थित रहेपछि सम्मेलनस्थलमा हंगामा नै भएको प्रतिनिधिहरुको भनाइ छ ।

उक्त विवादलाई समाधान गर्न अहिले कमलादीमा नै माओवादी स्थायी कमिटीको बैठक सुरु भएको छ । भगतले नारायणकाजी समेतको सहयोगमा गिरीराजमणि र उहाँ निकटकाले धनुषामा सहिद रामवृक्ष यादवको शालिक हटाएर निर्मल लामाको शालिक राख्ने तयारी गरेको आरोप लगाउनुभयो ।

त्यस विषयमा पार्टीले छानबिन गरेर गिरिराजमणिलगायतलाई कारबाही गर्नुपर्ने धारणा हलमा राख्नुभयो । तर गिरिराजमणि पोखरेल समूहले भने शालिक आफूहरुले नहटाएको दावी गर्दै आएको छ ।

Back to top button