एमाले सुनसरीको सातौँ जिल्ला अधिवेशन पुस २३ र २४ गते गरीने,२ हजार प्रतिनिधि सहभागी हुने

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौँ जिल्ला अधिवेशन पुस २३ र २४ गते हुने भएको छ।

पार्टी प्रचार प्रसार उपसमितिले आज इटहरीको पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी जिल्ला अधिवेशन दुई दिन हुने जानकारी दिएको हो।

अधिवेशनमा जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनीतिक एवं सांगठनिक अवस्थाको विचार, विमर्श र विश्लेषण गर्ने पार्टी जिल्ला अध्यक्ष खेमराज पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला सदरमुकाम इनरुवास्थित जेल फिल्ड (खेलमैदान) मा हुने अधिवेशनमा २ हजार प्रतिनिधि सहभागी हुनेछन्। अधिवेशनलाई पुस २३ गते अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गर्ने पोख्रेलको भनाइ छ।

जिल्ला अधिवेशनले एकतिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशिताको सिद्धान्त बमोजिम दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू, अल्पसङ्ख्यक जातिको समेत प्रतिनिधित्व हुने प्रचारप्रसार उपसमितिका संयोजक लोकेश निरौलाले बताउनु भयो।

उहाँका अनुसार अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव सहित १३५ सदस्य जिल्ला कमिटीको चयन गर्नेछ भने अधिवेशनमा नौ उपसमिति गठन गरिएको छ।

जिल्ला अधिवेशन प्रतिनिधि छनौट वडा शाखा कमिटीको एकैसाथ पौष १७ गते गर्नेछ। वडा तथा कमिटीलाई प्रतिनिधि छनौटको भूगोल मानी २५ जना सङ्गठित सदस्य बराबर १ जना र प्रत्येक ३ जना प्रतिनिधिमा १ जना महिलालाई अनिवार्य गरिएको छ।

Back to top button