सर्वोच्च पूर्व–प्रधानन्यायाधी र नेपाल बारका पूर्व–अध्यक्षहरूको सम्पत्ति छानबिन गर्न माग गर्दै उजुरी

काठमाडौं । सर्वोच्च अदालतका पूर्व–प्रधानन्यायाधीशहरू, पूर्वन्यायाधीशहरू र नेपाल बार एसोसिएसनका पूर्व–अध्यक्षहरू लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ।

न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधिशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो। अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन्।

अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च वार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्व–न्यायाधीशहरु, बारका पूर्व–नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताउनु भयो ।

उहाँहरूले भ्रष्टाचार गरेर सम्पत्ति कमाएको ठहर अभियानले समेत गरेकाले छानबिनको माग गर्दै उजुरी दिएको अधिवक्ता नेपालले बताउनु भयो।

अभियानले पूर्व–प्रधानन्यायाधीश, पूर्व–न्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उहाँहरूका परिवारका सदस्य उपर पनि छानबिन गरिनुपर्ने माग गरेको छ।

Back to top button