एमालेको अधिवेशन मस्कट सुनसरी अर्ना मोरङमा विभिन्न जातजाति

विराटनगर । चितवनमा भएको नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशनमा गैँडाको मस्कट प्रयोग गरिएको थियो । त्यसपछि हुन लागेको जिल्ला अधिवेशनहरूमा पनि आ–आफ्ना जिल्लाको पहिचानसँग जोडिएका भेषभूषा, जनावर तथा धार्मिक तथा पर्यटकीय क्षेत्र प्रतीक चिन्हमा प्रयोग भएका छन् ।

अघिल्ला अधिवेशनहरूमा भने एमालेको चुनाव चिह्न सूर्य मात्रै राख्ने गरिन्थ्यो । सुनसरी एमालेले प्रतीक चिन्हका रुपमा अर्नालाई राखेको छ । घरपालुवा भैँसीको पूर्वजका रुपमा मानिने अर्ना नेपालबाहेक भारत, भुटान, कम्बोडिया र थाइल्याण्डमा पाइने गरेको छ ।

भारतको काजिरंगा राष्ट्रिय निकुञ्जमा ठूलो संख्यामा अर्ना छ । नेकपा एमाले सुनसरीको प्रचार विभाग प्रमुख रवि खनालले दोस्रो ठूलो संख्या कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेकाले त्यसको प्रचारप्रसार गर्नका लागि प्रतीक चिह्नमा अर्ना प्रयोग गरिएको बताउनु भयो ।
दुर्लभ वन्यजन्तु रहेको नेपालकै पहिलो रामसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावनालाई उजागर गर्ने उद्देश्यका साथ पुस २३ र २४ गते सम्पन्न हुने सातौँ जिल्ला अधिवेशनको लोगोमा अर्नालाई महत्त्वका दिएर राख्न खोजिएको उहाँको भनाई रहेको छ ।

खनालका अनुसार अर्नासँगै सुनसरीका धार्मिक तथा पर्यटकीय गन्तव्य रामधुनी मन्दिर, धरानमा रहेको बुढासुब्बा, पिण्डेश्वर, दन्तकाली इटहरीमा रहेको तालतलैया र बर्जू ताललाई पनि लोगोमा प्रयोग गरिएको छ ।

यस्तै मोरङमा पनि धिमाल, सन्थाल, सतार जातिसँगै ऐतिहासिक पर्यटकीय क्षेत्र राजारानी ताल, विराट राजाको दरबारलगायतलाई प्रयोग गरिएको एमाले मोरङका अध्यक्ष ऋषिकेस पोख्रेलले बताए ।

पर्यटन र मोरङको इतिहाससँग जोडिएका मान उत्पतिको सकेत गर्ने गरी लोगो बनाइएको अध्यक्ष पोख्रेलको भनाइ रहेको छ ।

सबै पार्टीहरूले आ–आफ्नो कार्यक्रममा पर्यटकीय क्षेत्र तथा विशेषता जोडिएका वस्तुहरूको प्रयोग गर्नुले प्रचारप्रसारमा सहयोग पुग्ने पर्यटन क्षेत्रका अगुवा रामचन्द्र अधिकारीले बताउनु भयो । ।

दुई वटै जिल्लाको अधिवेशन पुस २३ र २४ गते हुँदैछ ।

Back to top button