मन्त्री कार्कीले सुकुम्बासी बस्तीमा श्रमदान गरेर मनाए जन्मदिन

विराटनगर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विराटनगर १२ मा १४५ घरधुरी सुकुम्बासीका लागि निर्माण भइरहेको एकिकृत बस्तीमा शुक्रबार श्रमदान गरेर जन्मदिन मनाउनु भएको छ । उहाँले उक्त का साथै बस्ती निर्माण काम गर्नेहरुलाई भोजनसमेत गराउनु भएको छ ।

मन्त्री कार्कीलगायत उहाँका परिवारका सदस्यका साथै स्थानीयवासीले पनि बस्ती निर्माणका लागि बाँस चिर्ने, जस्ता छाउने, माटो भर्ने काम दिनभरि गर्नु भएको थियो । बस्ती निर्माणका लागि सुकुम्बासी परिवारले २० लाख मूल्य बराबरको जनश्रमदान गर्नुपर्ने तर उहाँहरुलाई बस्तीका लागि खरिद गरेको जग्गाको ऋण बुझाउन ज्याला मजदुरी पनि गर्ने पर्ने भएकाले आफूलगायतका व्यक्तिहरुले जनश्रमदान गरेको मन्त्री कार्कीले बताउनु भयो । आफूहरुको जनश्रमदानले सुकुम्बासी परिवारलाई राहत पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।

मन्त्री कार्कीले वर्षायाममा सडक बिग्रेर निर्माण सामग्री ल्याउन नसकेको सँगै बाढी आएकाले लक्ष्य अनुसार बस्ती निर्माणको काम अघि नबढेकाले अब आउँदो बैसाख १ गते बस्ती हस्तान्तरण गर्ने गरी काम अघि बढाइएको बताउनु भयो ।
विराटनगर महानगरले महानगर आवास परियोजनाअन्तर्गत विराटनगर १२ मल्हनमास्थित केसलीया खोलाको किनारमा खरिद गरेको जग्गामा १ सय ४५ घरधुरी सुकुम्बासीका लागि एकिकृत बस्ती निर्माण भइरहेको छ ।
सुकुम्बासी परिवारले स्थानीय भैरब शर्माको ३ विघा १६ कठ्ठा ५ धुर जग्गा ४ लाख ७५ हजारको दरमा जीवन विकास समाजबाट ऋण लिएर खरिद गरेका हुन् ।

उक्त जग्गामा मन्त्री कार्की, महानगर, ह्याविट्याट फर नेपाल, सहारा नेपाल र दाताको सहयोगमा बस्ती निर्माण भइरहेको विराटनगर महानगरले जनाएको छ ।

जग्गाको मूल्य सुकुम्बासीहरुले तिर्ने र दुई वटा कोठा, भान्छा कोठा, स्नान गृह र शौचालयसहितको घर निःशुल्क उपलब्ध गराउने योजनाका साथ एकिकृत बस्ती निर्माण भइरहेको मन्त्री कार्कीले बताउनु भयो । बस्तीका लागि जग्गा खरिद गर्न जीवन विकास समाज कटहरीले १४ दशमलव ७ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराइदिएको छ । जीवन विकासलाई अढाई वर्षदेखि ५ वर्षभित्रमा सुकुम्बासी परिवारले ऋण चुक्ता गर्नुपर्ने सम्झौता छ । ‘प्रति परिवार २ लाख ६० हजार रुपैयाँको दरले जग्गा र रजिष्ट्रेशन पास खर्चसमेत लगानी गरेको छ,’ उहाँले भन्नु भयो, ‘सुकुम्बासी परिवारले ऋण चुक्ताका लागि मासिक ७ हजार रुपैयाँ तिर्दै आएका छन् ।’

१ सय ४५ परिवारको नाममा बाटो बाहेक ८ धुरको दरले जग्गा रजिष्ट्रेशन पास गरिएको छ । सडक किनारको ऐलानी जग्गामा बसोबास गर्दै आएका सुकुम्बासी परिवारले लालपुर्जा प्राप्त गरेको जग्गामा घरसमेत पाउने भएको हो । बाँकी जग्गामा सडक, उद्यान, विद्यालय र स्वास्थ्य केन्द्र निर्माण हुने कार्कीले बताउनु भयो ।
सुकुम्बासी परिवारको घर निर्माणका लागि ह्याविट्याटले प्रति परिवार १ लाख २५ हजारको दरले, महानगरले ८० लाख, मन्त्री कार्कीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट १ करोड उपलब्ध गराएका छन् । २० लाख मूल्य बराबरको सुकुम्बासी परिवारले जनश्रमदान गर्दै आएका हुन् ।

ह्याबिट्याटले सुकुम्बासी परिवारका युवाहरुलाई घर निर्माणका लागि तालिम दिएर जिल्ला दररेटले तोकेको पारिश्रमिकमा घर निर्माणमा खटाइरहेको छ ।

ह्याविट्याट र सहारा नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । ह्याविट्याटका इन्जिनियर विजयप्रसाद गुप्ताले सुकुम्बासी परिवारका लागि ४ लाखको दरले पक्की जगमाथि उपचार गरिएको बाँसको खम्बा, टाटीमा दुबैपट्टीबाट तार जाली राखेर प्लाष्टर र माथि जस्ताको छाना ४० घर राख्न सुरु गरिएको बताउनु भयो ।

‘घर निर्माणका लागि मात्रै ५ करोड ८० लाख बजेट खर्च हुन्छ,’ उहाँले भन्नुभयो, ‘बस्तीसम्म र बस्तीभित्र सडक, खानेपानी, उद्यान, विद्यालय, स्वास्थ्य केन्द्र निर्माणका लागि सम्बन्धित क्षेत्रका सरकारी कार्यालयले योगदान गर्ने सम्झौता छ ।’

घर निर्माणका लागि अपुग भएको करिव २ करोड रुपैया दाताहरुले सहयोग गरिरहेको उहाँले बताउनु भयो । विराटनगरकी शान्ता बस्नेत, महानगर प्रमुख भीम पराजुली, कांग्रेसका महानगर समितिका कार्यवाहक सभापति अरुण न्यौपानेले ३ लाख ५० हजारका दरले घर निर्माणका लागि सहयोग गर्नु भएको छ । यस्तै अन्य व्यक्तिले पनि सहयोग गरेका छन ।

Back to top button