नयाँ वर्ष २०२२ मा एम्स कलेजमा विविध कार्यक्रम

विराटनगर । विराटनगर–९ मा अवस्थित एम्स कलेजले अन्तराष्ट्रिय नयाँ वर्षको एक कार्यक्रम गरी मनाएको छ । “फन फेस्टिबल” नाम दिइएको उक्त कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

विद्यार्थीबाट गरिएको उक्त कार्यक्रममा विद्यार्थी नेता क्रिताञ्जली बराल, कलेजका अध्यक्ष तुलसीप्रसाद पोखरेल, क्याम्पस प्रमुख सि.एम.बस्नेतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विभिन्न रोमाञ्चक खेलहरु समेत आयोजना गरिएको थियो ।

नयाँ वर्षको शुरुवातसँगै विद्यार्थीहरुमा नयाँ जोस, नयाँ उमङ्ग र नयाँ पनको शुरुवात होस भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको नेतृ बरालले बताउनुभयो । इभेन्ट म्यानेज गर्न सिकाएको कुरा गर्दै प्रमुख बस्नेतले विद्यार्थीहरुलाई प्रेरणा दिदै भन्नुभयो, ‘नयाँ वर्ष २०२२ सँगै नयाँ बाटो, नयाँ परिवेश र आफु भित्र नयाँ पनको अनुभुति हुनुपर्छ ।’

बि.एच.एम अध्ययनरत विद्याथीहरुले आफुले बनाएको केक प्रदर्शन गरेर नयाँ वर्षको शुरुवात् गरे । कलेजले विद्यार्थीलाई रियल सिकाई हुने गरि कलेज भित्र नै लाइभ बेकरी एण्ड कफी हाउस सञ्चालन गर्दै आएको छ ।

कलेजले नयाँ वर्षको शुरुवातमा सम्पूर्ण विद्यार्थीलाई आफ्नै बेकरीमा आफ्नै विद्यार्थीले बनाएको केक समेत वितरण गरेको छ । एम्स कलेजले केही न केही अवसर पारेर विद्यार्थीहरुको अन्तरनिहित क्षमताको विकास हुने खालका कार्यक्रम गर्दै आएको छ ।

कलेजमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएस, बिएचएम र बिएससि. सिएस आइटी कार्यक्रम संचालनमा छन् ।

Back to top button