अनलाईनलाई पनि लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन गृहकार्यमा गर्दैछौंः मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।

अनलाइन पत्रकार संघ, नेपालले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले अनलाइन सञ्चार माध्यामलाई पनि लोककल्याणकारी विज्ञापन दिने सरकारको नीतिलाई कार्यान्वयनमा लैजान सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको हो ।

‘अनलाइन सञ्चार माध्यामलाई अन्य सञ्चार माध्यम सरह सरकारले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा र प्रतिवद्धता व्यक्त गरिसकेको भन्दै उहाँले यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक गृहकार्य गरिराखेको बताउनुभयो ।

मन्त्री कार्कीले अनलाइन सञ्चार माध्यमलाई विश्वासनीय, जवाफदेही र मर्यादित बनाउन विशेष पहलकदमी लिन पत्रकारहरुलाई आग्रह समेत गर्नुभयो ।

अनलाइन सञ्चार माध्यमलाई मर्यादित बनाउन सरकारले पनि पत्रकारहरुसँगै बसेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । मन्त्री कार्कीले वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारहरुको पक्षमा सधैं दृढतापूर्वक उभिने बताउनुभयो ।

मन्त्री कार्कीले मुलुकको विकास र समृद्धिका लागि सञ्चार माध्यामसहित सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने बताउनुभयो ।

Back to top button