प्रदेश १ सरकारले २५२ शय्याको कोभिड १९ उपचार केन्द्र तयार गर्दै

विराटनगर । फैलिँदै गएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टलाई लक्षित गरी प्रदेश १ सरकारले कोशी कोभिड १९ उपचार केन्द्र विस्तार गरी अक्शिजन प्लाण्टसहितको २५२ शय्याको बनाउन लागेको छ । प्रदेश सरकारले कोभिड १९ अस्पतालमा हाल थप ७६ शय्याको अस्पताल स्विटजरल्याण्ड सरकारको ४ करोड सहयोगमा शहरी विकास तथा भवन कार्यालय विराटनगरमार्फत निर्माण थालेको हो ।

तत्कालिन साल्ट ट्रेडिङको दक्षिणपट्टीको गोदाममा १८ वटा भेण्टिलेटरसहितको २४ वटा आईसियू र ५२ वटा एचडियूसहित ७६ शय्याको अस्पताल र त्यसको दक्षिणपट्टीको खाली जमिनमा अक्शिजन प्लान्ट, शवगृह र वेस्ट म्यानेजमेन्ट ब्लक निर्माण गरिरहेको छ । अबको एक सातामा सबै संरचनाको निर्माण सम्पन्न गरेर शहरी विकास तथा भवन कार्यालयलाई हस्तान्तरण गर्ने गरी काम अघि बढाएको निर्माण कम्पनीले जनाएको छ ।

शहरी विकास तथा भवन कार्यालयका इन्जिनियर विभाश भुडेरले अस्पतालको भौतिक संरचनाको निर्माण अन्तिम चरणमा पुगिसकेकोले अबको एक सातापछि अस्पताल सञ्चालन गर्न कुनै बाधा नपर्ने बताउनुभयो ।

महादेव खिम्ती÷स्वामी नारायण÷अञ्जना जेभीले कूल ३ करोड ९ सय ६१रुपैया“को लागतमा दक्षिण ब्लकको आइसियु, एचडियु, बेष्ट म्यानेजेमन्ट र शव गृह निर्माण, एलिशा कन्सट्रक्सनले १७ लाख ६ हजार ७ सय ६९ रुपैयाँ लागतमा अक्सिजन सेड निर्माण र प्रभु गंगा निर्माण सेवाले १७ लाख १७ हजार १ सय रुपैयाँमा एचभिएसी जडानको ठेक्का लिएर तिब्र गतिमा निर्माण काम गरिरहेका छन् ।

संक्रमित बिरामीहरुले फेरेको श्वास र नेगेटिभ प्रेसरलाई निर्मलीकरण गरेर बाहिर फाल्न हिटिङ भेन्टिलेसन तथा एअर कन्डिसन जडानको कार्य धमाधम भईरहेको इन्जिनियर भुडेरले बताउनुभयो । ‘दैनिक १५० सिलिण्डर अक्सिजन उत्पादन क्षमताको अक्सिजन प्लान्ट निर्माण तथा जडानको कार्य र एचभिएसी जडानको कार्य अन्तिम चरणमा पुगेको छ,’ उहाँले भन्नुभयो, ‘एचभिएसी जडान भईसकेपछि अस्पतालमा उपचाररत बिरामीबाट हुने जोखिम न्युनीकरण हुन्छ । बिरामीहरुले फेरेको श्वासले कसैलाई हानी नोक्सानी पु¥याउँदैन् ।’

कोभिड १९ उपचार केन्द्रले बिरामीहरुको लुगा धुनका लागि दक्षिणपट्टि लन्ड्री ब्लक, उत्तरपट्टि अर्को १५० सिलिण्डर क्षमताको अर्को अक्सिजन प्लान्ट निर्माणका लागि सेड, मेडिकल ग्यास सप्लाईका लागि आवश्यक संरचना र अस्पताल परिसरमा कालोपत्रे सडक निर्माणका लागि कोरोना जनशुरक्षा कोषबाट थप बजेट माग गरेको छ । उक्त कार्यका लागि थप ५६ लाखको लागत अनुमान गरिएको कोभिड १९ उपचार केन्द्रका संयोजक बैजनाथ साहले बताउनुभयो । उहाँले अर्को अक्शिजन प्लाण्ट जडानका लागि उपकरण आइसकेको तर सेड निर्माण नभएकोले खुल्ला आकाशमुनी बाहिर राख्न बाध्य भएको गुनासो पोख्नुभयो ।

कोरोना महामारी आउन साथ करोडौं लगातमा प्रदेश सरकारले तयार पारेको आईसियू ७, एचडियू १२ गरी ८० शय्याको कोभिड १९ अस्पतालमा पनि बिरामी भर्ना गरेर उपचार गर्न सक्ने अवस्थामा राख्न तयारी थालेको छ । उक्त अस्पताल कोरोना महामारीको दोस्रो लहरमा प्रयोगमा ल्याइएन । जसले उपचार अभावमा प्रदेशमा निकै व्यक्तिलाई समस्या भएको जनगुनासो थियो । अहिले कोभिड १९ अस्पताल प्रशासनले त्यसलाई प्रशासन भवन र गोदामको रुपमा प्रयोग गर्दै आएको छ ।

यसअघि कोभिड १९ अस्पताल परिसरमा रहेको उत्तरपट्टीको गोदाममा नागरिक समाजले १८ शय्याको भेन्टिलेटरसहित २१ वटा आईसियू, एचडियू ४७, अक्शिजन सहितको १५ र सामान्य शय्या १३ गरी कूल ९६ शययाको अस्पताल अहिले सञ्चालनमा रहेको छ ।

अस्पताल परिसरमा ३ सय सिलिण्डर क्षमताको अक्शिजन प्लान्ट भए पनि कोरोना भेरिएन्ट पुनः आएर २५२ शय्याका लागि १५ सय सिलिण्डर दैनिक आवश्यक पर्ने अस्पताल संयोजक साहले बताउनुभयो । उहाँले त्यसका लागि सरकारले तयारी गर्नु उपयुक्त रहेको बताउनुभयो ।

अस्पतालको अनुगमनमा गएका सामाजिक विकासमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले अस्पतालका लागि आवश्यक बजेट तत्काल प्रदेश जनशुरक्षा कोषबाट निकासा गर्न लगाउने प्रतिबद्धता जनाउनुभयो । ‘विपद् कसैलाई भनेर नआउने र कोरोनाको ओमिक्रोन भेरिएन्टले संक्रमितको संख्या बढ्दै गएकाले अस्पतालमा बिरामी भर्ना गरेर उपचार गर्ने तयारी अवस्थामा राख्नु प्रदेश सरकारको पहिलो प्राथमिकता हो,’ उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रममार्फत कोरोना महामारीले प्रदेशवासीको जीवन रक्षा गर्ने नीतिगत प्राथमिकता सार्वजनिक गरिसकेकाले यसको लागि सरकार प्रतिबद्ध छ ।’

मन्त्री कार्कीले कोभिड १९ अस्पतालको ८० शय्याको अस्पताललाई पूर्णरुपमा बिरामीको उपचार गर्ने अवस्थामा तयारी राख्न निर्देशन दिनुभयो । उहाँले आफै अस्पतालभित्र पीपीई लगाएर संक्रमितको उपचारको बारेमा प्रत्यक्ष जानकारी लिनुभयो ।

Back to top button