माओवादी केन्द्रको महाधिवेशनः सहमतिमै नेतृत्व चयन गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौंमा जारी महाधिवेशनमा पदाधिकारीसहितको २ सय ९९ सदस्यीय केन्द्रीय कमिटी सहमतिमै चयन गर्ने तयारी गरिएको छ ।

यसका लागि आवश्यक गृहकार्य गर्न माओवादीले आज दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको छ । निर्वाचन कार्यतालिकासमेत संशोधन गरिएको छ ।

हिजो साँझ बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय कमिटीका लागि सहमति जुटेको भन्दै आज १ बजे सम्मका लागि बन्दसत्र स्थगित गर्न गरेको प्रस्ताव हलले अनुमोदन गरेको थियो ।

केन्द्रीय कमिटीका लागि भूगोल सात र एक विशेष प्रदेश गरी आठवटै प्रदेशबाट केन्द्रीय कमिटी सदस्यका लागि क्लस्टर अनुसारका नाम सिफारिस गरिसकिएको छ ।

केन्द्रीय कमिटीमा सहमति जुटेपछि माओवादीले केन्द्रीय पदाधिकारी पनि हलबाटै घोषणा गर्ने तयारी अध्यक्ष प्रचण्डलगायतका नेताहरुको छ ।

आज बिहान ११ बजेसम्म केन्द्रीय पदाधिकारीका लागि सहमति जुटाउने र १ बजे सुरु हुने बन्दसत्रमा केन्द्रीय कमिटीको नाम पहिला घोषणा गर्ने त्यसपछि पदाधिकारी घोषणा गर्ने तयारी माओवादीको छ ।

नेकपा माओवादीले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव २, सचिव ३ र कोषाध्यक्ष १ गरी १५ सदस्यीय पदाधिकारी रहने विधान पारित गरेको छ ।

त्यस्तै कुल केन्द्रीय कमिटी सदस्यमध्ये ५० प्रतिशत खुल्ला र ५० प्रतिशत समावेशी बनाउने गरी निर्वाचित गर्ने व्यवस्था गरेको छ । जसमा खुलातर्फ १ सय ४५ जना हुने छन् । भने समानुपातिकतर्फ सबै क्लस्टर मिलाएर १ सय ५४ जना निर्वाचित हुनेछन् ।

Back to top button