प्रशिक्षणमा बोलाइएका ३० खेलाडीमध्ये ११ जनाको होटल रिपोर्टिङ, ६ जना बाटोमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी टी–२० विश्वकप ग्लोबल छनोटको तयारीका लागि बोलाइएको प्रशिक्षणमा कारबाहीमा परेका खेलाडीसहित उनीहरुलाई समर्थन गर्दै आएका खेलाडीहरुले होटल रिपोर्टिङमा जान मानिरहेका छैनन् ।

मुख्य प्रशिक्षक पुबुदु दासानायेकेले छनोटका लागि ३० खेलाडीलाई बोलाउनुभएको थियो। जसमा कारबाहीमा परेका ४ खेलाडीसमेत थिए।

यद्यपि क्यानको हिजो खेलाडीलाई होटल रिपोर्टिङ र आज ओरिएन्टेसन हुने कार्यक्रममा कारबाहीमा परेका र उनीहरुलाई समर्थन गर्दै आएका खेलाडीहरु सहभागी भएनन्। पहिलो दिन ११ खेलाडीमात्रै उपलब्ध भएका छन्।

६ खेलाडी भने आउने क्रममा रहेको क्यानका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले बताउनुभयो । ‘पहिलो दिन ११ खेलाडीले रिपोर्ट गरेका छन् । तराईमा रहेका ६ खेलाडी आउने क्रममा छन् । उनीहरु आइतबारसम्म आईपुग्ने छन्’, मल्लले भन्नुभयो ।

यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्तसहित कमलसिंह ऐरी र सोमपाल कामी गरी चार खेलाडीलाई आचारसंहिता उल्लघंन गरेको भन्दै केन्द्रीय कन्ट्याक्टबाट सुरुवाती ६ महिना बाहिर राखेको हो। सो विषयलाई लिएर केही खेलाडीले उनीहरुलाई समर्थन गरिरहेका छन्।

त्यस्तै, यता खेलाडीले भने हालका कप्तान सन्दीप लामिछाने हटाइनुपर्ने र खेलाडीको कारबाही फिर्ता हुनुपर्ने माग राख्दै आएका छन्। क्यान भने असन्तुष्ट खेलाडीविना पनि क्रिकेट प्रशिक्षण सुरु गर्ने तयारीमा छ। मल्लले उपलब्ध खेलाडीबाटै अभ्यास सत्र सुरु गर्ने बताउनुभयो।

३० सदस्यीय प्रारम्भिक टिमका खेलाडीको नाम

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, शरद भेसावकर, करन केसी, सोमपाल कामी, आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, आसिफ शेख, कमलसिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुसन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहित पौडेल, प्रदीप ऐरी, गुल्सन झा, नन्दन यादव, जितेन्द्र मुखिया, विवेक यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल र हरिशंकर शाह।

Back to top button