धनुषामा प्रहरीको गोली चल्यो, जनमत पार्टीका कार्यकर्तासहित ७ जना घाइते

जनकपुरधाम । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा राजमार्ग अवरुद्ध गर्दै विरोध प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्ताको प्रहरीसँग झडप भएको छ ।

प्रहरीले राजमार्गको अवरोध हटाउने क्रममा झडप भएको हो । त्यस क्रममा प्रहरीले गोली चलाउँदा जनमत पार्टीका ५ जना घाइते भएका छन् । बिहानैदेखि सडक जाम गरी बसेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले पुष्टि गर्नुभएको छ।

उहाँका अनुसार स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउनुपरेको हो । घटनामा घाइते भएका जनमत पार्टीका कार्यकर्तालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

झडपकै क्रममा नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका एकजना गरी दुई जना घाइते भएको प्रवक्ता एवं डीएसपी बस्नेतले बताउनुभयो । बन्द रहेको राजमार्ग भने सञ्चालनमा आइसकेको उहाँले बताउनुभयो ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् । उनीहरुले चक्काजाम गर्दा प्रदेश २ का जिल्लामा प्रायः प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप हुँदै आएको छ ।

Back to top button