नोबेल मेडिकल कलेज बिरुद्ध विद्यार्थीको आन्दोलन चर्कदै (भिडियोसहित)

इन्द्र शर्मा,

विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाए मात्रै पढाइ शुरू गर्ने बताएपछि विद्यार्थी थप आन्दोलित भएका छन् ।

चिकित्सा शिक्षा सघर्ष समिति तथा केहि विद्यार्थी संगठनहरुले आन्दोलमा एक्वेबद्धता जनाएपछि विद्यार्थीहरु थप आन्दोलित बनेका हुन् । आन्दोलनरत विद्यार्थीहरुले आज नोवेल मेडिकल कलेजको प्राङ्गणमा प्रदर्शन समेत गरेका छन् ।

उनीहरुले नाराबाजीसहित प्रदर्शन गरेका हुन् । सुनिल शर्मा होसियार, प्रिन्सिपल होसियार, शिक्षा आयोगले तोकेको शुल्क भन्दा तिर्दैनौं लगायतका नारासहित विद्यार्थीहरु आन्दोलित बनेका हुन् । आयोगले तोकेको भन्दा बढि शुल्क लिन विद्यार्थीलाई दवाब दिन खोजेको भन्दै एमबिबिएस पढ्ने विद्यार्थीहरुको संगठन चिकित्सा शिक्षा सघर्ष समिति समेत नोवेलका विद्यार्थीलाई साथ दिन विराटनगर आएको छ ।

पोखरादेखी विराटनगर आएर सो समितिका विद्यार्थी नेताहरुले आन्दोलनरत विद्यार्थीहरुलाई साथ दिएका हुन् । विद्यार्थीलाई राज्यको नियम लागुहुने मेडिकल कलेजका सञ्चालकलाई कारवाही नहुने भएपछि आदोलनलाई देशब्यापी बनाउन बाध्य हुनुपरेको चिकित्सा शिक्षा सघर्ष समितिका संयोजक पर्शु भट्टराईले बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/२०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा झण्डै ५ लाख रुपैयाँ बढी मागेपछि अभिभावक समेत आन्दोलन गरिरहेका छन् । कलेजले आयोगले तोकेको भन्दा ४ लाख ८२ हजार रुपैयाँ बढी बुझाउन दबाब दिदै आएको छ । अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीहरुको पठनपाठन रोकेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाए पढाउन नसक्ने धम्कि दिँदै पठनपाठन रोकेको हो । कलेजले पुस ११ गतेबाट कक्षा सुरु गरेपनि १२ गते देखि भने अतिरिक्त शुल्क नबुझाउने बिद्यार्थीको पठन पाठन नै रोकेको थियो ।

कलेजमा भर्ना भएका ९६ जना विद्यार्थीमध्ये ९ जना भारतीय, १० जना छात्रवृत्तिका र ५ जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई छुट्टै कक्षामा राखेर पढाउन थालेपछि शिक्षा आयोगले तोकेको शुल्क बुझाउदा पनि कतिपय विद्यार्थीहरु पढ्नबाट बञ्चीत बन्नु परेको छ ।

नेकपा एमाले तथा नेकपा एकिकृत समाजवादीका विद्यार्थी संगठनहरुले आन्दोलनलाई एक्वेबद्धता जनाउँदै आन्दोलन गरिरहेका छन् । आयोगले तोकेको भन्दा वढि शुल्क लिए थप आन्दोलन गर्ने नेकपा (एस) निकट अनेरास्वियुका नेता वसिम आलमले बताउनुभयो । उहाँले विद्यार्थीहरुको आन्दोलनमा आफ्नो समेत एक्वेबद्धता रहेको बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कूल ४४ लाख ३६ हजार २५ रुपैया शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर कलेज सञ्चालक सुनिल शर्माले अतिरिक्त २० लाख शुल्क बुझाउने सर्तनामामा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडान राख्दै आएको गुनासो विद्यार्थी तथा अभिभावकको छ ।

पटक पटक ज्ञापन पत्र बुझाउदा समेत सञ्चालकले वेवास्ता गरेकोले थप आन्दोलन गर्ने एमाले निकटको अनेरास्ववियुले पनि चेतावनी दिएको छ । आयोगले तोकेको भन्दा वढि शुल्क नलिन भन्दै चेतावनी सहितको पत्र प्रशासनलाई बुझाएको अनेरास्वियुका नेता नविन पहाडीले बताउनुभयो ।

यसैबिच गृहमन्त्रालयले समेत जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै बढी शुल्क लिएको पाइए कारवाही गर्न निर्देशन दिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले ठगिको उजुरी परे कारवाही अघि बढाइने बताउनुभएको छ ।

Back to top button