कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा १ वर्ष थप

काठमाडौं । इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि १ वर्ष थप भएको छ ।

दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा १ वर्ष थप गरेको हो ।

यस ठाउँमा श्रम गर्न आउने श्रमिकले सुरुमा तीन वर्षसम्मको प्रवेशाज्ञा पाउने गर्छन् । उक्त अवधि सकिएपछि पुनः १ वर्ष १० महिना थप गरी चार वर्ष १० महिना प्रवेशाज्ञा पाउने नियम छ तर पछिल्लो वर्ष कोरोना महामारीका कारण कोरियाले आवश्यक मात्रामा प्रवासी मजदुर भित्र्याउन नसकेकाले यहाँ रहेका प्रवासी मजदुरलाई राहत मिलेको छ ।

प्रवेशाज्ञा ३ वर्षे अवधि वा ४ वर्ष १० महिनाको अवधि सकिन लागेकालाई मात्र थपिएको प्रवासी श्रमिक युनियन (एमटियु)का अध्यक्ष उदय राईले जानकारी दिनुभयो । प्रवेशाज्ञा थपिने भएपछि ३ वर्षको अवधि सकिने तथा हाल ४ वर्ष १० महिनाको अवधि सकिने सम्पूर्ण श्रमिकको कोरिया बसाई अवधि ५ वर्ष १० महिना हुनेछ ।

३ वर्षको कार्यकाल सकिने श्रमिकले १ वर्ष थपेर ४ वर्ष पूरा गरेपछि पुनः पहिलेकै नियमानुसार १ वर्ष १० महिनाको प्रवेशाज्ञा थप्न सक्नेछन् । यस निर्णयले दक्षिण कोरियामा अझै थप बसेर श्रम गर्दै कमाउँछु भन्नेका लागि अवसर मिलेको छ भने नेपाललगायत अन्य देशमा रहेर सम्पूर्ण प्रक्रिया पूरा गरी कोरिया जान पर्खिरहेकामा भने कोरोनाका कारण प्रक्रिया अझै लम्बिन सक्ने देखिएको छ ।

Back to top button