राष्ट्रिय सभा सदस्य निर्वाचनः लुम्बिनी प्रदेशमा ६ जनाको उम्मेदवारी

बुटवल । माघ १२ गते हुन लागेको राष्ट्रिय सभामा सदस्य पदको निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्।

आज दाङको घोराहीस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर सत्तारुढ दलका तर्फबाट ३ जना र नेकपा एमालेका तर्फबाट ३ जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सत्तारुढ दलअन्तर्गत नेपाली कांग्रेसबाट युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चा (राजमो) का तर्फबाट तुलबहादुर विश्वकर्माले मनोनयन दर्ता गर्नुभएको हो । एमालेका तर्फबाट रामदयाल गुप्ता, भारती खनाल उपाध्याय र कृष्ण सुनारले मनोनयन दर्ता गराउनुभयो ।

लुम्बिनी प्रदेशमा महिला, दलित तथा अन्य समुदाय गरी ३ जनाका लागि निर्वाचन हुन लागेको हो। लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ९६ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

मतदान घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।

Back to top button