राष्ट्रियसभा चुनाव : प्रदेश १ मा ३ सीटका लागि ८ जनाको उम्मेदवारी, राप्रपाका कारण एमालेमा तरङ्ग

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा ३ सीटका लागि ८ जनाको उम्मेदवारी परेको छ ।मंगलवार भएको मनोनयन दर्तामा ८ जनाले उम्मेदवारी दिएका छन् ।

नेकपा एमालेका राष्ट्रियसभा सदस्यहरू मोरङकी नैनकला ओझा, इलामका अगम बान्तवा र संखुवासभाका परशु मेघी गुरुङको कार्यकाल फागुनमा सकिन लागेकाले चुनाव हुँदैछ ।प्रदेश निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेले अन्यतर्फ मोरङका गुरु बराल, महिलातर्फ झापाकी सुमित्रा भण्डारी र अपाङ्गता÷अल्पसंख्यकतर्फ सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ भने गठबन्धनले नेपाली कांग्रेसबाट अन्यतर्फ गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीबाट महिलातर्फ जयन्ती राई र जनता समाजवादी पार्टीबाट अपाङ्गता÷अल्पसंख्यकतर्फ हेमराज राईले मनोनयन दर्ता गराउनु भएको छ ।

झापाबाटै राप्रपाले पनि मनोनयन दर्ता गराएको छ । अन्यतर्फ अम्बरबहादुर विष्ट र महिलातर्फ रन्जु प्याकुरेलले मनोनयन दर्ता गराउनु भएको हो ।

केन्द्रमा रहेको ५ दलीय सत्तारुढ गठबन्धनमा १ नम्बर प्रदेशमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि सामेल रहेकाले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनको मतभार एमालेभन्दा बढी देखिएको छ ।

सबै मतदाताले मतदानमा सहभागी भएमा र ‘फ्लोर क्रस’ नभएमा १ नम्बर प्रदेशका ३ वटै सीट गठबन्धनका उम्मेदवारले जित्ने देखिएको छ । स्थानीय तहका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख र प्रदेशसभा सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा १ नम्बर प्रदेशमा ३६४ मतदाता छन् ।

प्रदेश सभाका ९३ मतदाता रहेकोमा टंक आङ्बुहाङलाई माओवादी केन्द्रले कारवाही गरेपछि उनको पद रिक्त भएर ९२ मतदाता छन् भने १३७ स्थानीय तहतर्फ २७४ मतदाता हुनेमा २ जनाको निधन भएका कारण २७२ जना मतदाता छन् ।

सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकाका अध्यक्ष ङिम दोजी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएकाले स्थानीय तहका मतदाताको पद रिक्त छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानूनी प्रावधान छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यको मतभार ४ हजार ४१६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरी १ नम्बर प्रदेशमा जम्मा मतभार ९ हजार ३१२ रहेको छ ।

प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको मतभार ४ हजार ५४२ रहेको छ भने गठबन्धनको मतभार ४ हजार ६८६ देखिएको छ । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशमा गठबन्धनमा आवद्ध नेपाली कांग्रेसको २ हजार ७३६, नेकपा माओवादी केन्द्रको १ हजार ८, नेकपा एकीकृत समाजवादीको ६७८, जनता समाजवादी पार्टीको २१६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ । प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपाको मतभार १२० रहेको छ ।

प्रदेशमा नेकपा एमालेका ४१ जना प्रदेशसभा सदस्य, ६३ स्थानीय तहका प्रमुख र अध्यक्ष तथा ८० जना उपाध्यक्ष र उपमेयर छन् । प्रदेश सभातर्फ एमालेको मतभार १ हजार ९६८ रहेको छ भने स्थानीय तहतर्फ १४३ जनप्रतिनिधिको २ हजार ५७४ मतभार रहेको छ ।

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ छन् । कांग्रेसका प्रमुख र अध्यक्ष ५४ तथा उपप्रमुख र उपाध्यक्ष ४२ रहेकोमा मतभार १ हजार ७२८ रहेको छ भने प्रदेशसभामा २१ सांसदको मतभार १००८ गरी जम्मा मतभार २ हजार ७३६ छ ।

माओवादीका १५ प्रदेशसभा सदस्यको ७२० मतभार रहेको छ भने प्रमुख र अध्यक्ष ९ जना तथा उपप्रमुख र उपाध्यक्ष ७ जनाको मतभार २८८ सहित माओवादीको जम्मा मतभार १ हजार ८ छ । नेकपा एकीकृत समाजवादीका स्थानीय तहका प्रमुख र अध्यक्ष ६ जना तथा उपप्रमुख र उपाध्यक्ष ५ जनाको मतभार १९८ रहेको छ भने प्रदेश सभाका १० सदस्यको ४८० मतभारसहित एकीकृत समाजवादीको जम्मा मतभार ६७८ रहेको छ ।

प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष २ रहेको जनता समाजवादी पार्टीसँग २१६ मतभार रहेको छ भने अध्यक्ष ३, उपाध्यक्ष १ र प्रदेशसभा सदस्य १ रहेको राप्रपासँग १२० मतभार छ । प्रदेश सभामा १ सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मतभार ४८ छ ।

Back to top button