मोरङ व्यापार संघको निर्वाचनः मनोनयन नै सिमित, निर्विरोध निर्वाचित

विराटनगर । मोरङ व्यापार संघको ३३ औं कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिमा ८ जनाले उद्योगतर्फ र वाणिज्यतर्फ पनि ८ जनाले मात्रै उम्मेद्वारी दर्ता गरेपछि निर्विरोध भएको हो ।

यसरी निर्वाचित हुनेहरुमा वाणिज्यतर्फ देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिल कुमार साह, विनित सिंघानिया, सुशिल सुराना, राजेश अग्रवाल रहनुभएको छ । उद्योगतर्फ नवीन रिजाल, आशिष जाजु, दिपेश सुवेदी, अमित सारडा, अनुपम राठी, विकास कुमार बेगवानी, पवन राठी र अनिल सारडा रहनुभएको छ ।

निर्वाचन आयोगका अनुसार मतदान आज बिहान १० बजेदेखि २ बजे दिउँसोसम्मलाई तोकिएको थियो । उम्मेदवारी नै बढी नपरेपछि मतदान नहुने भएको छ । कार्यसमिति निर्विरोध भएसँगै पदाधिकारी पनि सहमतिमै चयन गर्ने तयारी गरिएको छ ।

हालसम्म अध्यक्षमा नविन रिजाल एक्लो दाबेदार देखिनुभएको छ । प्रतिष्पर्धि अर्को उम्मेद्वार हालसम्म नदेखिएकोले रिजाल नै सर्वसम्मत निर्वाचित हुने सम्भावना देखिएको छ । व्यापार संघको संशोधित नियमावली अनुसार पदाधिकारीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग र वाणिज्यबाट उपाध्यक्ष १/१ जना, महासचिव १, सचिव १ र कोषाध्यक्ष १ गरी ७ जना रहने छन् ।

कार्यसमितिले मनोनित गर्ने अन्य सदस्यसहित मोरङ व्यापार संघको कार्यकारिणी समिति २१ जनाको हुनेछ । हालसम्म अध्यक्षमा रिजाल, वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष (उद्योग) अनिल सारडा, उपाध्यक्ष (वाणिज्य) विकास बेगवानी र महासचिवमा अनिल साहलाई नै दोहोर्‍याउने गरी छलफल अगाडि बढाइएको स्रोतले जनाएको छ ।

पदाधिकारी चयन भने माघ महिनामा मात्रै हुने भएको छ । मंसिर १६ गते मोरङ व्यापार संघले आफ्नो ६५ औं साधरणसभा सम्पन्न गरिसकेको छ ।

Back to top button