नेप्से परिसूचकमा ३० दशमलव ७५ अंकको गिरावट

काठमाडौं । तीन दिनयता लगातार रूपमा उच्च अंकमा बढेको सेयर बजारमापक नेप्से परिसूचकमा आज बे्रक लागेको छ। तीन दिनमा १५५ अंकले बढेर २ हजार ६ सय विन्दुमाथि पुगेको नेप्से परिसूचकमा आज ३० अंकको गिरावट आएको छ।

आज नेप्से परिसूचक ३० दशमलव ७५ अंकले गिरावट आएर २ हजार ६४९ दशमलव २० विन्दुमा झरेको छ। त्यस्तै, ठूला कम्पनीको सेयर मूल्यमापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६८ अंक, फ्लोट इन्डेक्स २ दशमलव ३६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ७५ अंकले गिरावट आएको छ।

आज कारोबारमा आएका २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको सेयर कारोबार भएको छ। गत मंगलबार ४ अर्ब ३२ करोड २६ लाख ९ हजार ८२७ रुपैयाँको सेयर कारोबार भएको थियो। कारोबार रकममा भने मंगलबारको तुलनामा बढेको छ।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत् र फाइनान्सबाहेक अन्य सबै उपसमूह राताम्मे भएको छ। जसमध्ये जलविद्युत् उपसमूह ० दशमलव ४९ प्रतिशत र फाइनान्स उपसमूह ० दशमलव १ प्रतिशतले बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक २ दशमलव २१ प्रतिशतले गिरावट आएको छ।

उत्पादन तथा प्रशोधन उपसमूह १ दशमलव ७४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १ दशमलव ७१ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, बैंकिङ, वित्त, लगानी उपसमूह र अन्य उपसमूहको परिसूचक १ प्रतिशतले गिरावट आएको छ।

नेप्सेमा गिरावट आए पनि आज मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४ दशमलव २० रुपैयाँ पुगेको छ।

त्यस्तै, विजया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४ दशमलव ५५ प्रतिशतले सबैभन्दा धेरैले घटेको छ। आज कारोबार रकमको आधारमा सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

Back to top button