बंगलादेश जाने एथलेटिक्स नेपाली खेलाडीको बिदाई

काठमाडौं । बंगलादेशमा हुने बंगबन्ध शेख मुजीवबन्धु म्याराथन प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीहरुलाई बिदाई गरिएको छ। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलाडी तथा प्रशिक्षकलाई आज बिदाई गर्नुभएको हो ।

यस्तै,मन्त्रालयको सभाहलमा आयोजित बिदाई कार्यक्रममा मन्त्री गहतराजले जीतको अग्रीम शुभकामनासमेत दिनुभयो। विगतमा दौडिएरै राजा हुने ऐतिहासिक विरासत बोकेको देशका खेलाडीलाई विश्वका कुनै शक्तिले हराउन नसक्ने उहाँको भनाइ थियो। उहाँले नेपाली खेलाडीहरु ट्रफी बोकेरै स्वदेश फर्कनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

पछिल्लो समय खेलाडीहरुको सम्मानका लागि सरकार गम्भीर भएको बताउँदै उहाँले भन्नुभयो, ‘हामी पुरस्कार तथा सम्मान कार्यविधि बनाउँदैछौं। जसमार्फत खेलाडीहरुलाई पुरस्कारको अग्रीम सुनिश्चितताको व्यवस्था हुनेछ।’ बंगलादेशमा पौष २६ गते हुने म्याराथनमा नेपालसहित १५ राष्ट्रको सहभागिता हुने नेपाली टीमका प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिनुभयो ।

४२ किलोमिटर दूरीको फुल म्याराथनमा सहभागी हुन गुरुङको नेतृत्वमा नरेन्द्रसिंह रावत, किरण बोगटी र पुष्पा भण्डारी बंगलादेश जाँदै हुनुहुन्छ ।

Back to top button