काठमाडौंको विकल्पमा नयाँ भर्सनको शहर आवश्यकः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं शहरको विकल्पको रुपमा नयाँ ‘भर्सन’ को शहर आवश्यक रहेको चर्चा गर्नुभएको छ ।

लगानी बोर्डको बैठकमा बोलदै अर्थमन्त्री शर्माले विकास काठमाडौं केन्द्रित मात्रै भएको भन्दै विकल्पमा अर्को शहरको आवश्यकता रहेको बताउनुभएको हो ।

उहाँले काठमाडौंबाट बाहिर निस्किएर दूर–दराजका क्षेत्रमा नयाँ शहर निर्माणको अवधारणामा जानु पर्ने आवश्यकता रहेको तर्क गर्नुभयो । ‘काठमाडौं बाहिर कम्तिमा तीन वटा ठूला शहरको निर्माणको आवश्यकता छ,’उहाँले भन्नुभयो ‘काठमाडौंको नयाँ भर्सन चाहियो ।’

अर्थमन्त्री शर्माले नयाँ शहर निर्माणका लागि तीन वटा ठाउँ खोजेर अगाडि बढ्नुपर्ने भन्दै त्यसो गर्न सके विकासको नयाँ ढोका खुल्ने बताउनुभयो । विकासमा सन्तुलन आवश्यक रहेको तर्क गर्दै उहाँले ठूला आयोजना तथा उद्योगमा लगानी बोर्डले क्षेत्रगत विशिष्टीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजना निर्माण गर्नुपर्ने उहाँको भनाई छ । उहाँले पर्यटन क्षेत्रमा ‘सगरमाथा योजना’, ‘रारा योजना’ जस्ता योजनाअघि सार्न लगानी बोर्डलाई आग्रह गर्नुभयो ।

जलविद्युत क्षेत्रमा तीन वटा ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिनुभएको छ । उहाँले काठमाडौं, पोखरा, लुम्बिनीका लागि तीव्र गतिको यातायात पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

Back to top button