नोबेल मेडिकल कलेजमा एमबिबिएस पहिलो वर्षको कक्षा संचालन नगर्न मोरङका प्रमुख जिल्ला अधिकारीको निर्देशन

विराटनगर । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग गरेको भन्दै आन्दोलन चर्किएको नोबेल मेडिकल कलेजमा एमबिबिएस पहिलो वर्षको कक्षा संचालन नगर्न मोरङका प्रमुख जिल्ला अधिकारीले निर्देशन दिनु भएको छ ।

आज आन्दोलनरत विद्यार्थी, विद्यार्थी संगठन, नोबेल मेडिकल कलेजका प्रतिनिधि बिच प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको छलफलमा प्रजिअ काशीराज दाहालले अर्को निर्णय नभए सम्म कक्षा संचालन नगर्न निर्देशन दिनु भएको हो । छलफलका क्रममा नोबेल मेडिकल कलेजका प्रतिनिधिहरुले निर्णय गर्ने अधिकार कलेज संचालक शुनिल शर्मालाई मात्र रहेको बताए पछि अर्को निर्णय नभए सम्म कक्षा संचालन नगर्न भनिएको हो ।

कलेजमा अध्ययन गरीरहेका १५ औं ब्याचका १ सय विद्यार्थीहरु मध्ये करिब २० जना विद्यार्थी अध्ययन गरिरहेका छन् । पढिरहेको बिद्यार्थीहरुको पनि कक्षा बन्द गर्ने निर्णय भएको अनेरास्ववीयु मोरङका नेता तुलसी घिमिरेले बताउनु भयो ।

त्यस्तै प्रजिअ दाहालले निर्णय विपरित गएर कक्षा सञ्चालन गरेमा कार्वाहीका लागी प्रहरीलाई पत्र लेखी पठाइने बताउनु भएको छ ।

Back to top button