प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच विहान भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न बालकोटस्थित ओली निवास पुग्नुभएको थियो ।

भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले संसदको गतिरोध हटाउने विषयमा प्रधानमन्त्रीले अनुरोध गरेको बताउनुभयो ।

भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग माग्नुभएको छ । एमालेले कारवाही गरेका माधव नेपालसहित १४ संसदको कारवाही रोकेर अवैध रुपमा दल (नेकपा एस) दर्ता गरिएको भन्दै प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

माधव नेपालको कारवाही वैद्य हुनुपर्ने, सांसदको हैसियतमा संसदमा उपस्थित गराउन नहुने र कारवाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग छ ।

एमालेसँग सम्वाद गर्न यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएपनि माधव नेपाल सहभागी भएका कारण एमाले अनुपस्थित रहँदै आएको छ ।

त्यसैगरी समाभुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको छैन । सहमतिको निरन्तर प्रयास गर्दा पनि एमालेले अवरोध कायमै राखेपछि सत्ता गठबन्धनले सम्वाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ । जसअन्तर्गत देउवा बालकोटा पुग्नुभएको हो ।

Back to top button