जिल्लास्तरीय ‘ए’ डिभिजन लिगको उपाधी मोतीरामलाई

विराटनगर । जिल्ला स्तरीय ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि मोतीराम स्पोर्टिङ क्लबले जितेको छ ।

मोरङ जिल्ला फुटबल संघले विराटनगरको सहिद मैदानमा आयोजना गरेको प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा मोतीरामले उर्लाबारी स्पोर्टिङ क्लबलाई ३–१ गोलअन्तरमा पराजित गर्दै लिग विजेता बनेको हो । मोतीरामका टेकबहादुर लिम्बूले ह्याट्रिक गोल गर्दै टोलीलाई विजयी बनाउनुभयो ।

खेलको १८ औं मिनेटमा मोतीरामका टेकबहादुर लिम्बूले गोल गर्दै अग्रता दिलाउनुभयो । ४१ औं मिनेटमा पुनः लिम्बूले गोल संख्या दोब्बर पार्नुभयो । ४५ औं मिनेटमा उर्लाबारीका लागि सौरज राउतले एक फर्काउनुभयो । ७० औं मिनेटमा मोतीरामका लागि फेरी लिम्बूले गोल गर्दै जित निकाल्नुभयो । खेलको म्यान अफ द म्याच टेकबहादुर लिम्बूले नगद पाँच हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

प्रतियोगिताको विजेता मोतीरामले नगद ५० हजार रुपैयाँ र उपविजेता उर्लाबारीले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नुभयो । खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, पूर्व वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँ, एन्फाका पूर्व सहमहासचिव वसन्त अर्याल, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल र खेल संयोज धनबहादुर लामालगायतले पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगितामा नवप्रगतिशील क्बल, उर्लाबारी स्पोर्टिङ क्लब, साइनो स्पोर्टिङ क्लब, युनाइटेड स्पोर्टिङ क्लब, बेलबारी फुटबल क्लब, मोतीराम स्पोर्टिङ क्लब, श्री हरैंचा स्पोर्टिङ क्लब र सम्राट स्पोर्टिङ क्लब सहभागिता रहेको थियो ।

Back to top button