‘नेपालको आन्तरिक ममिलामा चीनले हस्तक्षेप गरिरहेको छ’

राजविराज । नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको सप्तरीमा आयोजित एक कार्यक्रममा बक्ताहरुले बताउनुभयो ।

जिल्लाको शम्भुनाथ नगरपालिकास्थित कठौनामा राष्ट्रिय हिन्दु पत्रकार संजालले आयोजना गरेको ‘मधेशको नेतृत्व र विकासको अवस्था’ बिषयक अन्तरकृया कार्यक्रममा बोल्दै बक्ताले नेपालको भूमीमा चीनले आफू अनुकूल काम गरिरहेको बताउनुभयो ।

उहाँहरुले तराई मधेशका व्यक्तिलाई पनि प्रलोभनमा पारी चीन आफनो ऋण जालमा फसाईरहेको आरोप समेत लगाउनुभयो । जसका कारण मधेशको विकास पनि पछि परिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता बुद्धिजिवी सबुरलाल साहुले मधेशमा चिनियाँ कम्पनीहरुले चीनबाट कामदार ल्याई नेपाली कामदारको श्रम शोषण गरिरहेको आरोप लगाउनुभयो । उहाँले चीनमा आजिवन कारावासको सजाय पाएका व्यक्तिलाई नेपालमा बोलाएर काममा लगाईरहेको खुलाउनुभयो ।

नेपाली काँग्रेस प्रदेश १ को ख का क्षेत्रीय सभापनि उमेश मिश्राले चीनले आफनो प्रभाव बढाउन मधेशदवादी दलका केही नेताहरुसंग सम्पर्क बढाउन खोजेको आरोप लगाउनुभयो । उहाँले जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव जस्ता व्यक्तिहरु पनि चीनको इसारामा मधेशमा काम गरिरहेको बताउनुभयो ।

जनता समाजवादी पार्टीले मधेशमा द्वन्द्व बढाउन खोजेको बताउँदै मिश्रले भन्नुभयो, ‘जनता समाजवादी पार्टीका नेताहरुले विकास भन्दा पनि भ्रष्टाचार कसरी गर्ने प्रति बढी ध्यान केन्द्रीत गरेका छन् ।’ मधेशवादी नेताहरुकै कारण मधेशमा भ्रष्टाचार संस्थागत भएको उहाँले दावी गर्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विरेन्द्र साह ‘क्रान्ति’ ले चीनको विआरआई परियोजना गरीव राष्ट्रलाई भारी ऋण बोकाएर आफ्नो इसारामा नचाउने किसिमको योजना रहेको बताउनुभयो । चीनले आफ्नो अभिष्ट पूरा गर्नका लागि नेपालमा पनि विआरआई परियोजना लागू गराउन खोजेको आरोप लगाउनुभयो । साहले नेपालमा विआरआई परियोजना लागू हुन नदिनुपर्नेमा जोड् दिनुभयो ।

सोही कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष उम्मदेश्वर प्रसाद साहले प्रदेश सरकारमा मधेशवादी दलका मुखियाहरुकै प्रतिनिधित्व भएपनि मधेशमा विकास नहुनु दुःखद भएको बताउनुभयो । आफूलाई मधेशका नेता भनेर चिनाउनेहरुको पछिल्लो क्रियाकलापले विकास भन्दा पनि विनासले प्राथमिकता पाएको उहाँको भनाई छ ।

‘मधेशी दलले नेतृत्व गरेको सरकारले ४ वर्षमा पनि आफनो भवन बनाउन सकेको छैन । अहिले पनि राजाको समयमै निर्माण गरिएको जकपुर चुरोट कारखानामै आफ्नो निवास र मन्त्रालय राखेको छ’ उहाँले भन्नुभयो, ‘आफनो घर समेत बनाउन नसक्ने मधेशका नेताहरुले जनताको घरदैलोमा विकास कसरी गर्छ ।’

प्रधानाध्यापक धर्मदेव साहले राजनीतिक रुपमा नेतृत्व गर्नेले विकासको पनि जिम्मा लिएर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले नेतृत्वकर्ताले विकासको लागि योजना बनाएर लक्ष्य अनुसारका काम गर्न नसके नेतृत्वको कुनै अर्थ हुन नसक्ने उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका युवा नेता अर्जुन साहले माओवादी र मधेशवादी नेताहरुले समाजलाई विभाजन गरेको आरोप लगाउनुभयो । उहाँले आफू सत्तामा जानको लागि माओवादी र मधेशवादी दलका नेताहरु समाजका विभिन्न वर्गलाई विभाजन गरेर सामाजिक एकतालाई कमजोर पारेको कारण विकासले गति लिन नसकेको बताउनुभयो ।

अधिवक्ता हेमनारायण चौधरीले पार्टीको झण्डा बोकेर स्थानीय तहमा जनप्रतिनिधि गएको कारण मधेशमा विकास नभएको बताउनुभयो । उहाँले स्थानीय तहमा दलको टिकट लिएर चुनावमा जाने कानुन नफेरिएसम्म स्थानीय तहबाट प्रवाह हुने विकासमा असर पर्ने तर्क राख्नुभयो । ‘स्थानीय तहमा दलीय टिकटमा चुनाव हुनुहुँदैन’ उहाँले भन्नुभयो ।

कार्यक्रममा स्थानियत नेता सत्यजिकत कुमार झा, हिन्दु यूवा संघका जिल्ला अध्यक्ष दिपेश देब जोशी, मैथिली सहित्य परिषदका अध्यक्ष सतिश कुमार दत्त, नेपाली कांग्रेसका यूवा नेता जगदीश साह, नेपाल प्रेस यूनियनका पूर्व अध्यक्ष ओम प्रकाश साह लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Back to top button