प्रदेश १ सरकारले जनस्तरमा पुर्‍याउन सकेन खोप

विराटनगर । प्रदेश १ सरकारले जनस्तरमा खोप सेवा पुर्‍याउन सकेको छैन । यस प्रदेशसमा खोप प्रयाप्त हुँदा पनि लक्ष्य अनुसार खोप लगाउन सकेको छैन । प्रदेश सरकारले यस प्रदेशसमा जनघनत्व बढी भएको सुनसरी, मोरङ र झापा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका खोप लगाउने अभियानसमेत अहिलेसम्म सञ्चालन गर्न सकेको छैन । प्रदेश सरकारले जनस्तरमा खोप सेवा पुर्‍याउन नसक्दा सर्वसाधारण ओमिक्रोन भेरिएन्टको जोखिममा पर्ने देखिएको छ ।

प्रदेश १ मा शुक्रबारसम्ममा ५० लाख ९२ हजार १४६ डोज खोप आइसकेको छ । जसमध्ये यस प्रदेशस्थित १४ जिल्लामा ४६ लाख ४६ हजार ६८६ डोज बितरण भएको र ४ लाख ४५ हजार ४६० डोज प्रदेश स्वास्थ्य आपुर्ति केन्द्रमा मौजदात रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका खोप संयोजक उदेश्य श्रेष्ठका अनुसार १८ वर्ष माथि उमेरका २२ लाख ९६ हजार ४०३ जनाले पहिलो डोज र १६ लाख ६ हजार ७३९ जनाले दुबै डोज खोप लगाइसकेका छन् । यस प्रदेशमा १८ वर्ष माथि उमेरका ३७ लाख जनालाई खोप लगाउने प्रदेश सरकारको लक्ष्य छ ।

यस्तै, १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई सुनसरी, मोरङ र झापा बाहेक ११ जिल्लामा २ लाख २४८ जनालाई मोडर्ना खोप लगाइसकिएको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार १२ देखि १७ वर्ष उमेर समूहका ५ लाख ६३ हजार २५२ जनालाई खोप लगाउने प्रदेश सरकारको लक्ष्य छ । उहाँले विदेश जानेका लागि जोनसन एण्ड जोनसन खोप लगाउने प्रदेश सरकारले व्यवस्था गरेको बताउनुभयो ।

प्रदेश सरकारले सुनसरी, मोरङ र झापामा हालसम्म १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि खोप अभियान सुरु गर्न सकेको छैन । संघीय सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमा नै गएर खोप सेवा दिने प्रदेश सरकारको योजना तत्काल पूरा नहुने देखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले यसअघि संघीय सरकारले सुनसरी, मोरङ र झापाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि समयमा मोडर्ना खोप नपठाइदिएकाले खोप लगाउन ढिलाइभएको बताउनुभयो । उहाँले यी तीन जिल्लास्थित विद्यालयहरुमा खोप केन्द्र राखेर खोप लगाउने तयारी गरिरहेकै बेला संघीय सरकारले माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने गरेको निर्णयले अप्ठयारो भएको स्विकार्नुभयो ।

अब छलफल गरेर यी तीन जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने उपाय खोज्ने बस्नेतले बताउनुभयो । यस प्रदेशका ११ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने कार्यक्रम चलिरहेको उहाँले बताउनुभयो ।

‘प्रदेशमा खोप प्रयाप्त भए पनि खोप लगाउने व्यक्तिको संख्या कम देखिएकै हो,’ निर्देशक बस्नेतले भन्नुभयो, ‘खोप लगाउनेको संख्या बढाउनका लागि स्वास्थ्य कार्यालय, स्थानीय तहलगायतका पार्टनर संस्थाहरुसँग पटक पटक समन्वय, छलफल गर्दै आएको तर पनि खोप लगाउनेको संख्यामा खासै वृद्धि हुन सकिरहेको छैन ।’

उहाँले पुसमसान्तसम्ममा ६६ प्रतिशतमा र चैतसम्ममा शतप्रतिशतमा खोप सेवा पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो । अहिले सञ्चालन भइरहेको खोप सेवाले सरकारी लक्ष्य पुर्‍याउन कठीन देखिन्छ । अहिले प्रदेश सरकारले स्वास्थ्य संस्थाहरुबाट खोप सेवा सञ्चालन गर्दै आएको छ । आफैले खोप लगाउनु पर्छ भनेर बुझेका व्यक्तिहरु मात्रै स्वास्थ्य संस्थामा गएर खोप लगाइरहेका छन् । तर निमुख्खा, गरीव, विपन्न, श्रमिक वर्ग जसले स्वास्थ्य सुरक्षा मापदण्डसमेत पाल्ना गर्ने तरिका जान्दैनन् र कोरोना संक्रमणको सबभन्दा बढी जोखिममा छन् त्यही वर्ग खोप सेवाबाट बञ्चित रहेको प्रदेश सरकारको नै तथ्यांकले जनाएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका निमित सचिव फडिन्द्र खत्रीले पछिल्लो समय भइरहेको हरेक बैठक र छलफलमा खोप पर्याप्त भए पनि खोप लगाउनेको संख्या नबढेको सबला उठ्दै आएको बताउनुभयो । ‘प्रदेशमा अहिले खोपको समस्या छैन तर खोप लगाउन व्यक्ति नआइदिँदा समस्या भएको हो,’ उहाँले भन्नुभयो, ‘सचेत वर्ग, जान्ने, बुझ्ने, शिक्षित वर्ग नै स्वास्थ्य संस्थामा गएर खोप नलगाइदिने गरेकाले तल्लो वर्गको विषयमा कुरा गरेर के हुन्छ ?’ व्यक्तिहरु खोप केन्द्रमा खोप लगाउन नजाने र खोप केन्द्र आम नागरिकको घरदैलोमा पुर्‍याउने जनशक्ति नभएको अबस्थामा खोप लगाउनेको संख्या वृद्धि गर्न चुनौतिपूर्ण देखिएको खत्रीको भनाई छ ।

‘अहिले आइरहेको कोरोनाको ओमिक्रोन भेरिएन्टको संक्रमण दर आक्रामक रहेकोले सम्पूर्ण लक्षित समूहलाई खोप सेवा प्रदान गर्नुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘त्यसैले सम्पूर्ण प्रदेशवासी आ–आफ्ना जिम्मेबारी बोध गरेर नजिकको खोप केन्द्रमा गई खोप लगाइदिन आग्रह छ ।’ खोप लगाउनका लागि सर्वसाधारणलाई प्रोत्साहित गर्न स्थानीय नागरिक समाज, बुद्धिजिवि, समाजिक संघ, संस्था, स्थानीय तहले आ–आफ्ना ठाउँबाट भूमिका निर्वाह गर्नुको विकल्प नभएको खत्रीको भनाई छ ।

अवकास प्राप्त चिकित्सक डा. सितल यादवले कोरोना महामारीको जोखिम न्यूनीकरणको एकमात्र साधन खोप भएकोले जुनसुकै मूल्यमा पनि सर्वसाधारणसम्म खोप सेवा पुर्‍याउन सरकारलाई सुझाब दिनुभयो ।

‘मान्छे भोकले भन्दा रोगले मर्न सहज ठानेरै खोप केन्द्रमा गएर खोप नलगाएको बुझ्नु आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘गरीव, निमुख्खा, विपन्न, श्रमिक वर्गले दैनिक ज्याला मजदुरी छोडेर खोप लगाउन नगएकाले नै खोप लगाउनेको संख्या कम देखिएकाले सरकारले आफ्नो अनुकुल खोप केन्द्रबाट नभई सर्वसाधारणको अनुकुल समयमा घर घरमा गएर खोप लगाउनु पर्छ ।’ घर घरमा गएर खोप अभियान सञ्चालनका लागि सरकारले अहिलेको महामारीको बेला बेरोजगार जनशक्तिलाई स्वयंसेवकको रुपमा भए पनि उपयोग गरेर खोप सेवा सर्वसाधारणसम्म पुर्‍याउने यादवको सुझाब छ ।

सामाजिक विकासमन्त्री जयराम यादवले जनघनत्व कम भएको हिमाली र पहाडी जिल्लामा ७०/८० प्रतिशतले खोप लगाएको तर जनघनत्व अत्यधिक भएको सुनसरी, मोरङ, झापा, उदयपुरलगायतका जिल्लामा खोप लगाउनेको संख्या अत्यन्तै कम हुनु चिन्ताको विषय भएको स्विकार्नभयो ।

‘सचेत नागरिकले बुस्टर डोज लगाउन माग गरिरहेका छन् तर निमुख्खा, गरिव, विपन्न, श्रमिक वर्गले खोपको पहिलो मात्रा पनि लगाउन पाएका छैनन्,’ उहाँले भन्नुभयो, ‘निमुख्खा, गरिव, विपन्न, श्रमिक वर्गले खोपको अभावले नभई जनचेतनाको अभावले खोप लगाउन नआएको हुँदा स्थानीय तहका साथै सामाजिक संघ संस्थाको भूमिका आवश्यक भएको छ ।’ समाजका अगुवा, नागरिक समाज, बुद्धिजिवि, स्थानीय तहले आ–आफ्ना गाउँ, टोल, समाज, क्षेत्रमा खोप नलगाएकाहरुलाई खोप केन्द्रमा गएर खोप लगाउन भूमिका निर्वाह गरिदिन मन्त्री यादवले आग्रह गर्नुभयो ।

Back to top button