कर्णालीसँग प्रदेश १ पराजित

काठमाडौं । प्रधानमन्त्री कप टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णालीले दोस्रो खेलमा पहिलो जित निकालेको छ। आज मुलपानी क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ लाई ३१ रनले पराजित गर्दै कर्णालीले पहिलो जित निकालेको हो।

टस हारेर पहिलो ब्याटिङ गर्दै कर्णालीले निर्धारित २० ओभरमा दिएको १२१ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ को ८९ रनमै समेटिएपछि कर्णालीले सहज जित निकाल्यो। सामान्य लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको प्रदेश एक १७ दशमलव ५ ओभरमा ८९ रनमा अलआउट भयो। प्रदेश १ का लागि फिर्दोस अन्सारीले २३ रन जोड्नुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्।

खराब सुरुवात गर्ने क्रममा प्रदेश १ ले ३३ रन जोड्दा ७ विकेट गुमाएको थियो। पछिल्लो क्रमका फिर्दोससँगै दिपेश कडेल र श्रवन यादवले पनि १५–१५ रनको योगदान दिनुभएपनि टिमको हार टार्न भने पर्याप्त रहेन।

प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा अनुज चुनराले सर्वाधिक ४ विकेट लिनुभयो । त्यस्तै‚ दिवन पुनले २ विकेट लिंदा दिनेश अधिकारी, प्रकाश जैशी र अनुप कुंवरको नाममा १–१ विकेट रह्यो। त्यसअघि टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२० रन बनाएको थियो।

रविन्द्र शाहीले ३६ रन बनाउँदा प्रकाश जैशीले २५ रन बनाउनुभयो । त्यस्तै‚ राज शाहले १५ रन जोड्दा विपिन रावलले ११ रन बनाउनुभयो । प्रदेश १ का लागि मुकुन्द यादवले ३ विकेट लिंदा फिर्दोस अन्सारीले २ विकेट लिनुभयो । त्यस्तै कमल खत्री र सिद्धान्त लोहनीले समान १(१ विकेट लिनुभएको थियो।

Back to top button