राष्ट्रियसभा सदस्य निर्वाचन : प्रदेश १ मा एमाले र राप्रपाबीच सहकार्य

विराटनगर । राष्ट्रियसभा सदस्यमा जीत्नका लागि प्रदेश १ मा एमाले र राप्रपाबीच सहकार्यका लागि प्रयास भइरहेको छ । एमाले र राप्रपाबीच सहकार्य भए राष्ट्रियसभा सदस्यको तीन वटै पदमा जित सुनिश्चित हुने छ । राष्ट्रियसभामा तीन सदस्यका लागि भइरहेको निर्वाचनमा प्रदेश १ मा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारूढ गठबन्धन दलबाट जनता समाजवादी पार्टीले अल्पसंख्यक/अपांगमा भोजपुरका हेमराज राई थुलुङ, अन्यतर्फ कांग्रेसले झापाका गोपाल बस्नेत र महिलातर्फ नेकपा (एकीकृत समाजवादी)ले भोजपुरकी जयन्ती राईको उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै, एमालेबाट अन्यमा मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अल्पसंख्यक÷अपांगमा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पाले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै, राप्रपाका रन्जु प्याकुरेलले महिलामा र अमरबहादुर बिष्टले अन्य सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्रकुमार लिङ्देनले अहिले तत्काल राष्ट्रियसभा सदस्य निर्वाचनमा सहकार्यका लागि एमालेसँग छलफल भइरहेको बताउनुभयो । ‘राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेसँग सहकार्यका लागि अहिले भइरहेको अनौपचारिक छलफलले मुर्तरुप लिइसकेको छैन,’ उहाँले भन्नुभयो, ‘अहिले भइरहेको छलफलले मुर्त रुप लिएपछि मात्रै केही भन्न सकिन्छ ।’ उहाँले अहिले राष्ट्रियसभा सदस्य निर्वाचनमा सहकार्यका लागि नै औपचारिक रुपमा कुरो मिलिनसकेकाले स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने विषयमा बोल्नु उचित हुँदैन ।

एमालेका प्रदेश १ इञ्चार्ज देवराज घिमिरेले राष्ट्रियसभा सदस्य निर्वाचनमा राप्रपासँग सहकार्यका लागि सकारात्मक रुपमा नै छलफल अघि बढिरहेको बताउनुभयो । ‘उम्मेदवारी फिर्ता लिनु अघिदेखि नै राप्रपा अध्यक्ष राजेन्द्र जीसँग छलफल भइरहेको तर उहाँहरुले उम्मेदवारी फिर्ता लिनुभएको छैन,’ उहाँले भन्नुभयो, ‘उम्मेदवारी फिर्ता नलिए पनि निर्वाचनमा सहकार्य गर्ने विषयमा अध्यक्षसँगै सकारात्मक रुपमा छलफल अघि बढिरहेको छ ।’

राप्रपासँगको सहकार्यले पनि एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा जित सुनिश्चित नहुने देखिएकाले स्थानीय तहको निर्वाचनमा सहकार्य गर्ने आधार तयार गर्न सहकार्यको प्रयास भइरहेको एमालेका एक नेताले बताउनुभयो ।

यस प्रदेशको कूल मतभार ९ हजार ३१२ मा सत्तारुढ गठबन्धन दलको ५० जना प्रदेश सांसद र स्थानीय तहका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष १२६ गरी कूल ४ हजार ६६८ मतभार रहेको छ । गठबन्धन दलमध्ये कांग्रेसको प्रदेश सांसद २१ र स्थानीय तहका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष ९६ गरी कूल मतभार २ हजार ७३६, माओवादी केन्द्रको १५ जना प्रदेश सांसद र प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष १६ गरी मतभार १ हजार ८, नेकपा एकिकृत समाजवादी)को प्रदेश सांसद १० र प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष १० गरी मतभार ६६० रहेको छ ।

यस्तै, जनता समाजवादी पार्टीको प्रदेश सांसद ३ र प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष ४ गरी २१६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी १ प्रदेश सांसदको मतभार ४८ गरी सत्तारुढ गठबन्धनको कूल मतभार ४ हजार ६६८ रहेको छ ।

एमालेको प्रदेश सांसद ४१ र स्थानीय तहका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष १४२ गरी कूल मतभार ४ हजार ५२४ रहेको छ । प्रदेश सांसदमध्ये गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । त्यसैले एमालेको मतभार घटेर ४ हजार ४७६ मात्रै हुने देखिन्छ ।

यस्तै, राप्रपाकी १ प्रदेश सांसद र स्थानीय तहका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष ४ जना गरी कूल मतभार १२० रहेको छ । यसरी राप्रपा र एमालेबीच राष्ट्रयसभा सदस्य निर्वाचनमा सहकार्य हुदा पनि दुबैको कूल मतभार ४ हजार ५९६ मात्रै पुग्ने रहेछ । त्यसैले राप्रपा र एमालेको सहकार्यले पनि राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाममा कुनै असर नपर्ने देखिन्छ । यसका लािग एमाले र राप्रपाले सहकार्य गरे सँगै सत्तारुढ गठबन्धन दलबाट मत चोर्नुको बिकल्प देखिदैन ।

यसअघिको राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेसबाट तत्कालिन नेकपाले दुई जना प्रदेश सांसदको मत चोर्न सफल भएका थिए । राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते निर्वाचन हुँदै छ ।

Back to top button