नोबेल मेडिकल कलेज सञ्चालक सुनिल शर्माको विद्यार्थीद्वारा प्रतिकात्मक शव यात्रा प्रदर्शन

विराटनगर । अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा पिडित विद्यार्थीहरुले नोबेल मेडिकल कलेज सञ्चालक सुनिल शर्माको प्रतिकात्मक शव यात्रा प्रदर्शन गरी अन्तिम संस्कार गरेका छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)का भ्रातृ संगठन अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा पिडित विद्यार्थीहरुले विराटनगरस्थित कञ्चनबारीबाट सुरु गरेको प्रतिकात्मक शव यात्रा कलेजभित्र प्रदर्शन गरी मूल गेटमा अन्तिम संस्कार गरेर विरोध जनाएका हुन् ।

अनेरास्ववियु मोरङका नविन पहाडीले विद्यार्थीसँग जबरजस्ती अतिरिक्त शुल्क उठाउने शिक्षा माफिया रहुञ्जेल आफूहरुले पिडित विद्यार्थीका साथ संघर्ष गरिरहने बताउनुभयो ।

चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानका संयोजक मनिष भट्टराईले राज्यले तोकेको शुल्क तिरिसक्दा पनि जबरजस्ती अतिरिक्त शुल्क अुल्ने बहानामा पठनपाठन रोकुञ्जेल संघर्ष जारी राख्ने बताउनुभयो ।

विद्यार्थीहरुको आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले कलेजभित्र नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा बनाएका छन् । विद्यार्थीको आन्दोलनले कलेजको अस्पताल सेवा प्रभावित हुँदै आएको छ ।

पिडित विद्यार्थीहरूले विद्यार्थी संगठनको सहयोगमा गत बुधबारदेखि कलेज प्रशासनमा तालाबन्दी गरी लगातार रिले अनशन बस्दै आएका हुन् । अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएपछि पिडित विद्यार्थीहरू आन्दोलनमा उत्रेका छन् ।

Back to top button