‘चपली हाइट ३’ आजदेखि प्रदर्शनमा

काठमाडौं । ​प्रतीक्षित नेपाली फिल्म ‘चपली हाइट ३’ आजदेखि प्रदर्शनमा आएको छ। विभिन्न कारणले तीनपटक प्रदर्शन मिति सार्नु परेको फिल्मले आजदेखि देशव्यापी रूपमा प्रदर्शन सुरु गरेको हो।

यस्तै,अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशनमा बनेको फिल्म अधिकांश हलमा सर्वाधिक शोका साथ प्रदर्शनमा आएको छ। फिल्मले क्युज सिनेमामा ५०, बिग मुभिजमा ३६, बिएसआरमा ३० र एफ क्युबमा ३३ प्रतिशत शो पाएको छ।

त्यस्तै‚ नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उपत्यकामा ३६ प्रतिशत शो दिएको छ। जुन हलमा लागेका बाँकी फिल्मको भन्दा धेरै हो। सस्पेन्स थ्रिलर जनरामा बनेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, आमीर गौतम, सुपुष्पा भट्ट, प्रतीकमान श्रेष्ठ, महेश त्रिपाठीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

यसअघि २०७६ चैतमै प्रदर्शन हुने भनिएको फिल्म कोरोनाका कारण सार्नु परेको थियो। त्यसपछि गत पुस २ लाई प्रदर्शन मिति तोकेको फिल्म हलिउड फिल्म स्पाइडर म्यान: नो वे होम र तेलुगु फिल्म पुष्पा: द राइज पनि सोही मितिमा आउने भएपछि पुस १५ मा सरेको थियो। पुस १६ लाई पहिले नै अर्को नेपाली फिल्म कठपुतली ले प्रदर्शन मिति तोकेकाले चपली हाइट–३ फेरि सरेर पुस ३० मा पुगेको हो।

चपली हाइट ३ बाहेक आजदेखि नै जापानी एनिमेटेड सुपरहिरो फिल्म माइ हिरो एकेडेमिया: वर्ल्ड हिरोज मिसन पनि प्रदर्शनमा आएको छ। कोही होरिकोशीको कथामा आधारित फिल्मलाई केन्जी नागासाकीले निर्देशन गर्नुभएको छ । यीबाहेक हलमा कठपुतली, पुष्पा र स्पाइडर म्यान पनि प्रदर्शन भइरहेका छन्।

Back to top button