नयाँ वर्षको दिनबाट प्रदर्शन हुँदै ‘ए मेरो हजुर ४’, टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ४’ नयाँ वर्षको दिनबाट प्रदर्शन हुने भएको छ। चलचित्र निर्माण टोलीले चलचित्रको टिजर सार्वजनिक गर्दै चलचित्र प्रदर्शन मिति घोषणा गरेको हो।

यस्तै, नायक अनमोल केसी र नायिका सुहाना थापा अभिनित यो चलचित्रलाई सुरुमा चैत्र २५ मा प्रदर्शन गर्ने जनाइएको थियो। तर चलचित्र प्रदर्शनको नयाँ मिति सार्वजनिक गर्दै निर्माण टोलीले टिजर सार्वजनिक गरेको छ।

चैत्र २५ मा बलिउड चलचित्र ‘लाल सिंह चढ्ढा’ र कन्नड डब चलचित्र ‘केजीएफ २’ प्रदर्शन हुन सक्ने सम्भावना रहेको भन्दै चलचित्र प्रदर्शन मिति सारिएको हो। सार्वजनिक टिजरमा अनमोल र सुहानाबीचको प्रेम, रोमान्स र विछोडलाई देखाइएको छ। सुहाना इन्टरटेन्मेन्टको प्रस्तुति र सुनिलकुमार थापा प्रोडक्सनले निर्माण गरेको चलचित्रलाई झरना थापाले निर्देशन गर्नुभएको हो।

चलचित्रमा झरना स्वयंको कथा रहेको छ भने पटकथा र संवादमा उहाँलाई स्व छेतन गुरुङ, मन्दिप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे र माधव शर्माले सघाउनुभएको छ । चलचित्रमा नायक सलोन बस्नेतको पनि मुख्य भूमिका रहेको छ।

चलचित्रमा सञ्जय लामाको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, बसन्त सापकोटा, प्रतीक पौडेल, कल्याण सिंह र आशिष अविरलको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी तथा मित्र डि गुरुङको सम्पादन रहेको छ।

चलचित्रलाई गोविन्द शाही र केदारप्रसाद पराजुलीले काठमाडौं उपत्यका र मोफसलमा वितरणको जिम्मेवारी सम्हाल्नुभएको छ ।

Back to top button