पुलिससँग कर्णाली ८९ रनले पराजित

काठमाडौं । प्रधानमन्त्री कप टि–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ८९ रनले पराजित गरेको छ। आज टियु मैदान कीर्तिपुरमा भएको खेलमा पुलिसले कर्णालीलाई पराजित गरेसँगै सेमिफाइनल सम्भावना समेत बलियो बनाएको छ।

जितसँगै पुलिस ६ अंकका साथमा समूह ‘ए’मा शीर्ष स्थानमा रहन सफल भएको छ। टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसका लागि कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले २० ओभरमा ६ विकेट गुमाएर २४४ रन बनाउनुभएको थियो।

पुलिसलाई उच्च स्कोरमा पुर्‍याउने क्रममा ओपनर कुशलले ३९ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ८२ रनको सानदार इनिङ खेल्दा दीपेन्द्रसिंहले २८ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६२ रनको स्कोर बनाउनुभयो ।

त्यस्तै‚ पवन सर्राफले २२ रन बनाउँदा आरिफ शेख ९ बलमा १८ रन बनाएर नटआउट रहनुभयो । दीलिप नाथले १० बलमा ३१ रनको नटआउट इनिङ खेल्नुभयो। कप्तान मन्जित श्रेष्ठले १९ रन बनाउनुभएको थियो । यस्तै, कर्णालीका लागि अनुज चुनरा, प्रकाश जैशी र रविन्द्र शाहीले समान २–२ विकेट लिनुभएको थियो ।

अंक तालिकामा पुलिसले ३ खेलमा ६ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ। जवाफमा कर्णाली निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र जोड्न सक्यो। कर्णालीका लागि प्रकाश जैशीले ४७ बलमा ६८ रनको अर्धशतकीय इनिङ खेल्नुभयो ।

प्रकाशबाहेक अन्यको प्रदर्शन भने निराशाजनक रह्यो। दिवन पुन १७ रनमा अविजित फर्किंदा दिनेश अधिकारी र मनिष थापाले समान १५–१५ रन बनाउनुभयो। पुलिसका लागि दिपेन्द्र सिंह ऐरी र योगेन्द्र सिंह कार्कीले समान २–२ विकेट लिनुभयो ।

Back to top button