राजबंशी समुदायले मनाए ‘तिला सुकराती’ पर्व (तस्बिरहरु)

विराटनगर । विराट राजबंशी समुदायले तिला सुकराती पर्व मनाएका छन् । पर्वको अवसरमा विराट राजबंशी उत्थान समितिले आयोजना गरेको कार्यक्रममा तिल खिचडी, भुजा, च्युरा, तिलको लड्डु सामूहिक भोजन गरेर शुभकामना आदान प्रदान गरेका हुन् ।

कार्यक्रममा राजबंशी समुदायका अगुवा तथा अवकाश प्राप्त शिक्षक बन्दीलाल राजबंशी तिला सुकरात पर्वको सांस्कृतिक तथा धार्मिक महत्वको बारेमा जानकारी गराउनुभएको थियो । ‘माघ १ गतेबाट एउटा तिल बराबर प्रत्येक दिन लामो हुने र जाडो घट्दै जाने भएकोले पर्वको रुपमा तिला सुकरात मनाउँदै आएकका छौं,’ उहाँले भन्नुभयो, ‘यो पर्वको अबसरमा हिन्दुधर्मालम्बीहरुले बिहानै स्नान गरेर कुल देउवतालाई पूजा गरी दुधमा मुछेको तिल, सख्खर र चामलको प्रसाद ग्रहण गरेर भोजन गर्ने परम्परा छ ।’

पुसभरिको जाडोमा स्नान नगर्नेहरुले पनि यो दिन स्नान गरेर भोजना गर्ने परम्पराले छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको उत्थान समितिका अध्यक्ष भूनेश्वर मण्डल राजबंशीले बताउनुभयो । उहाँले अहिलेको सूचना प्रविधिको युगमा सांस्कृतिक महत्वको पर्वहरुको बारेमा नयाँ पुस्तामा सचेतना जगाएर पुस्तान्तर गर्नु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा उत्थान समितिका मोरङ अध्यक्ष प्रदिप विश्वास राजबंशीले विराट राजबंशी समुदायको सांस्कृतिक उत्थानको दायित्व युवाको काँधमा आएको बताउनुभयो ।

 

विराट राजबंशी समुदायका युवा नेता दिवस राजबंशीले अल्पसंख्यक विराट राजबंशीको उत्थान फुटेर नभई सबैले जुटेर गर्नु आवश्यक भएको बताउनुभयो । ‘मुलुकमा आएको संघीयताले सबै जात, धर्म, समुदायलाई आ–आफ्नो विकासका लागि अवसर प्रदान गरेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले प्राप्त राजनीतिक अधिकारलाई उपयोग गरी विराट राजबंशी समुदायको उत्थानमा लाग्नुको विकल्प छैन ।’

Back to top button