सहिद स्मारक ‘ए’ डिभिजन लिग, आज दुई खेल हुँदै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा मच्छिन्द्र र बिग्रेड ब्वाइज आमनेसामने हुनेछन्। शीर्षस्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबलाई ४ अंकको अग्रता लिने अवसर रहेको छ। मछिन्द्रले कमजोर देखिएको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को सामना गर्दैछ।

लिगको दाबेदार मनाङ मर्स्याङ्दी क्लब नवप्रवेशी सातदोबाटो युथसँग १–० ले पराजित भएपछि मच्छिन्द्रलाई शीर्ष स्थानमा रहँदै अंक बढाउने अवसर रहेको हो। अग्रंपक्तिमा बलियो देखिएको मच्छिन्द्रसँग विमल घर्तीमगर, अभिषेक रिजाल, मनिष डाँगी, कप्तान सुजल श्रेष्ठ, विदेशी खेलाडी नुर्लानजस्ता उत्कृष्ट खेलाडी छन्।

पहिलो खेलमा न्युरोड टीम एनआरटीविरुद्ध ५४ औं मिनेटमा फ्रिकिकमा गोल व्यहोरेको मच्छिन्द्रले त्यसयता गोल खानुपरेको छैन। बिग्रेड ब्वाईजपनि अप्रत्याशित नतिजा निकाल्ने दाउमा छ। युवा खेलाडीले भरिएको ब्रिगेड ब्वाईज मच्छिन्द्रलाई रोक्दै अंकतालिका सुधार गर्न चाहन्छ। पछिल्लो खेलमा बिग्रेड ब्वाईजले नेपाल पुलिस क्लबलाई रोकेको थियो।

जारी लिगमा ८ खेल खेलेको मच्छिन्द्र अपराजित रहँदै २० अंकसहित मछिन्द्र शीर्षस्थानमा छ । बिग्रेड ब्वाईज समान खेलबाट ६ अंक जोड्दै १२ औं स्थानमा छ। आजै दोस्रो खेलमा विभागीय नेपाल पुलिस क्लबले च्यासल युथ क्लबको सामना गर्दैछ।

खेल दशरथ रंगशालामा पौने ५ बजे सुरु हुनेछ। दुबै टोली रेलिगेशनको संघारमा छन्। जारी लिगमा पुलिस ८ खेलबाट ७ अंकसहित ११ औं स्थानमा छ। च्यासल भने समान खेलबाट ५ अंकसहित १३ औं स्थानमा छ। १४ क्लब सहभागी लिगमा पुछारका २ टोली बी डिभिजन लिगमा घटुवा हुनेछन्।

Back to top button