राजस्व छलेर भाग्न खोज्ने क्यासिनो सञ्चालकलाई विदेश जान रोक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त प्रमुखकार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ ।

क्यासिनो सञ्चालन गरेबापत उहाँले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले र मन्त्रालयका सचिव महेश्वर न्यौपानेको निर्देशनमा हिजो राति १० बजे साउथ अमेरिका उड्न लागेका क्यासिनोका निमित्त सिइओ बोल्सोभरलाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको बताइएको छ ।

उहाँले ओसिपी एसियाको लगानीमा काठमाडौंको लाजिम्पाटस्थित साङ्ग्रिला होटल र भैरहवास्थित टाइगर प्यालेसमा सञ्चालित दुई क्यासिनोको राजस्व तिर्र्नुनभएको र उहाँले सञ्चालन गरेका दुईवटा क्यासिनोले प्रतिक्यासिनो रु ६ करोड ५० लाखका दरले दुई क्यासिनोको रु १३ करोड पुस मसान्तभित्र दाखिला गर्नुपर्नेमा अटेर गरी भाग्नलाग्नुभइको थाहा पाएपछि रोक लगाइएको हो ।

मन्त्री आलेको निर्देशन पछि सञ्चालनमा रहेका आठ क्यासिनो कम्पनीले कम्तीमा पनि रु ४० करोड सरकारको खातामा राजस्व दाखिला गरिसक्नुभएको छ भने एसएचएल म्यानेजमेन्ट प्राइभेट लिमिटेडले भने रु १३ करोड राजस्व नबुझाएको बताइएको छ ।

म्यानेजमेन्ट प्राइभेट लिमिटेडले तिलोत्तमा नगरपालिका–६ भैरहवामा २३ कठ्ठा सरकारी जग्गामा पाँच तारे होटल गैरकानुनी ढङ्गले सञ्चालन गरेको आरोप छ । सर्वोच्च अदालतलेसमेत उक्त कम्पनीलाई कुनै कारोबार नगर्न आदेश दिएको थियो ।

सर्वोच्चको आदेशविपरित क्यासिनो र होटल सञ्चालन गर्दै आएको उक्त कम्पनीका सिइओ बोल्सोभर राजस्व नबुझाएर मध्यरातमा नेपाल छोड्दै गर्दा पक्राउ परेका हुन् ।

Back to top button