४–५ दिनभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा हुन्छ :स्वास्थ्यमन्त्री खतिवडा

विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकारले ४–५ दिनभित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने बताएका छन् ।

समाजवादी प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति तय गर्ने बताउनु भएको हो ।

आयोगले माघको पहिलो हप्ताभित्रमा मिति घोषणा गरे वैशाखमा चुनाव गराउन सक्ने बताउँदै आएको छ ।

मन्त्री खतिवडाले अहिलेको सरकार चुनावबाट नभागेको समेत बताएका छन् । तीनै तहको चुनाव एकैपटक गराउने हो भनेर पत्रकारले सोधेको प्रश्नमा उहाँले प्रदेश र संघको चुनावको मिति पछि मात्रै तोकिने बताउनु भयो ।

मन्त्री खतिवडाले कोरोनाविरुद्धको खोप अभियानमा सक्रिय सहभागिताको लागि सर्वसाधारणलाई आग्रह गर्नु भएको छ । सरकारले खोप कार्यक्रमलाई अभियानका रुपमा अघि सारेको भन्दै मन्त्री खतिवडाले सरकारी अस्पताल र विभिन्न स्वास्थ्य संस्थामा विशेष डेस्क सञ्चालन गरी नियमित खोप सञ्चालन गरिएको बताउनु भयो ।

चैत महिनाभित्र १८ वर्षमाथिका लक्षित समूहका नागरिकलाई पूर्ण मात्राको खोप लगाइसक्ने सरकारको योजना रहेको भन्दै उहाँले सो समयमा लक्ष्य प्राप्ति गर्ने समेत दाबी गर्नुभयो ।

सरकारसँग पर्याप्त खोप भए पनि नागरिकले खोप नलगाएको भन्दै अब जनचेतनाका कार्यक्रमलाई समेत अगाडि बढाउने उहाँले बताउनु भयो । मन्त्री खतिवडाले १८ वर्षमाथिका लक्षित समूहका ६० प्रतिशतले मात्र पूर्ण डोजको खोप लगाएको र ८० प्रतिशतले पहिलो मात्राको खोप लगाएको दाबीसमेत गर्नु भयो ।

मन्त्री खतिवडाले कोभिडविरुद्ध खोपको पर्याप्त मौज्दात रहेको र ११ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारीमा सरकार जुटेको दाबी गर्नु भएको छ ।

विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएपछि बालबालिकालाई पनि खोप लगाउने गरी सरकारले खोप उत्पादक कम्पनीसँग सहमति गरेर रकमको समेत जोहो गरिसकेकोउहाँको भनाइ रहेको छ ।

Back to top button