प्रदेश २ को स्थायी राजधानी अब जनकपुर

काठमाडौं । प्रदेश २ को स्थायी राजधानी अब धनुषाको जनकपुर रहने भएको छ । प्रदेशको स्थायी राजधानीका बारेमा दलीय सहमति जुट्न नसकेपछि आज प्रदेशसभामा भएको मतदानमा स्थायी राजधानी जनकपुर दुईतिहाइ बहुमतले पारित भएको हो।

मतदानमा हाल अस्थायी राजधानीका रूपमा रहेको ऐतिहासिक नगर जनकपुरको पक्षमा ७८ मत परेको र उक्त मत प्रदेशसभाको दुईतिहाइ मत भएकोले उक्त प्रस्ताव पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गर्नुभयो।

यस्तै, सभामुख यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीनवटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान भएको हो। प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव पारित हुन प्रदेशसभामा दुईतिहाइ बहुमत आवश्यक पर्छ।

सत्तारूढ जनता समाजवादी पार्टी, माओवादी केन्द्रले प्रदेशको नाम मधेस प्रदेश राख्नुपर्ने प्रस्ताव गर्दा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले त्यही प्रस्तावलाई समर्थन गरेको छ। १०७ सदस्यीय प्रदेशसभामा दुईतिहाई मतका लागि ७० सदस्य चाहिन्छ। यसअघि गत २०७७ चैत ५ गते प्रदेश २ को राजधानी र नामकरणको विषयमा प्रदेशसभामा भएको मतदान भएको थियो।

त्यतिबेलै प्रदेशको राजधानी जनकपुर राख्ने विषयमा सहमति नजिक पुगेका राजनीतिक दलहरुबीच नामकरणमा सहमति नभएपछि मतदान प्रक्रियाबाट दुवै विषय टुंग्याउने भन्दै मतदान गरेका थिए।

तत्कालीन बैठकमा पनि दुईतिहाई बहुमत नपुगेपछि राजधानी र नामकरणको प्रस्तावसमेत पारित हुन असफल भएको थियो।

Back to top button