धनुषामा लुटेराद्धारा प्रहरीमाथि आक्रमण एक असई घाइते

जनकपुरधाम । धनुषामा प्रहरीमाथि लुटेराहरुको समूहले आक्रमण गरेका छन् । धनुषाको बटेश्वर गाउँपालिकास्थित प्रहरीचौकीका असई मनोज पोखरेलमाथि गएराति लुटेराहरुको एक समूहले आक्रमण गरेको धनुषा प्रहरीले जनाएको छ ।

बटेश्वर गाउँपालिका वडा न: ४ स्थित राम्रो चोकमा लुटेरालाई नियन्त्रण लिएपछि आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणमा परि घाइते हुनुभएका असई पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उहाँको टाउकोमा १२ वटा टाका लागेको प्रहरीले जनाएको छ ।

भारतको मद्रासबाट कमाएर फर्केका महोत्तरीको भंगहा नगरपालिका–७ का अमित पासमानको पैसा, लत्ताकपडा, मोबाइल सहितका सामान लुटपाट गरेका थिए । त्यस लगतै पुग्नुभएको असई पोखरेल सहितको प्रहरी टोली लुटेरा समूहलाई पक्राउ गरेपछि उहाँमाथि आक्रमण भएको हो ।

यस्तै,लुटपाट तथा प्रहरीमाथि आक्रमण गर्ने पाँचजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो । पक्राउ पर्नेमा चन्द्रदेव यादव, जिवन ठाकुर, कमलेश यादव, रामबाबु यादव र नरेशरवी दास रहेका छन् ।

जसमध्ये मुख्य आरोपी स्थानीय रामजिवन ठाकुरको साथबाट लागुऔषध नाइटरोभेट ट्याब्लेट र चक्कु बरामद भएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Back to top button