जिटुजी प्रक्रियामार्फत पहिलोपटक १९ कामदार इजरायल प्रस्थान

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भइ पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाई गर्नु भएको छ ।

निजी क्षेत्र तथा बिचौलियाका सरकार–सरकार (जिटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका श्रमिकको बिदाइका लागि मन्त्री श्रेष्ठ सहित मन्त्रालयका उच्च कर्मचारी तथा नेपालका लागि इजरायलका राजदुत हनान गोदर विमानस्थल पुग्नु भएको थियो ।

पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकहरुलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको इज्यत रहने गरी अनुशासित भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले विगतमा पनि नेपालीहरू इजरायल रोजगारीमा पठाउन पटक–पटक प्रयास भएपनि आफ्नो कार्यकालमा सफलता प्राप्‍त भएको बताउनु भयो ।

६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन्। इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन्।

यसपछि माघ १५ र १६ गतेका दिन दुई उडान हुनेछ । वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय र मङ्सिरमा छ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो।

छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो।

इजरायल जाने नेपालीले मासिक करिव २ लाख रुपियाँ पारिश्रमिक पाउनेछन्। मन्त्री श्रेष्ठले सुरक्षित, पारिश्रमिक तथा सेवा–सुविधाका हिसाबले आकर्षक गन्तव्य मुलुक खोजी गरिरहेको बताउँदै आइरहनु भएको छ ।

Back to top button