मन्त्री यादवलाई कारवाही गर्न नागरिक अगुवाहरुको माग

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई तत्काल पदमुक्त गर्न माग नागरिक अगुवाहरुले माग गरेका छन् ।

रौतहटको सदरमुकाम गौरमा १५ वर्षअघि भएको हत्याकाण्ड दोहोर्‍याउने धम्की दिएका कारण मन्त्री यादवलाई कारवाहीको माग गरिएको हो ।

मन्त्री यादवले बुधबार गौरमै भएको पार्टी समर्थित युवाहरुको एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउत र उहाँका कार्यकर्ताहरुलाई लक्षित गरी आवश्यक परे फेरि पनि गौर हत्याकाण्ड दोहोरिने चेतावनी दिनुभएको थियो ।

तात्कालिन मधेसी जनअधिकार फोरमका नेता तथा कार्यकताहरुले माओवादीको कार्यक्रममा हस्तक्षेप गरी २८ नेता तथा कार्यकर्ताहरुको हत्या गरेको थियो। उक्त घटनाको अहिलेसम्म गम्भीर छानबिन भएको छैन।

संघीय मन्त्री रहेको अवस्थामा पनि त्यस्तै प्रकृतिको अर्को हत्याकाण्ड दोहोर्‍याउने धम्की दिनुभएकी जनता समाजवादी पार्टीकी नेतृ यादवलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष नागरिक अगुवाहरूले माग गरेका हुन् ।

मुलुकमा कानुनको शासन कायम छ भन्ने अनुभूति जनतालाई गराउनु सरकारको पहिलो दायित्व रहेको भन्दै शुक्रबार जारी नागरिक अपीलमा भनिएको छ, ‘हामी प्रधानमन्त्री देउवासमक्ष मन्त्री रेणु यादवलाई तत्काल पदमुक्त गरी कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं।’

नागरिक अगुवाहरु डा केदार नरसिंह केसी, चरण प्रसाईं, गणेशकुमार मण्डल, सुशील प्याकुरेल, तारानाथ दाहाल, इन्द्र अर्याल, महामुनीश्वर आचार्य र कनकमणि दीक्षितले हस्ताक्षर गरेको नागरिक अपीलमा अगाडि भनिएको छ, ‘चर्चित (गौर हत्याकाण्ड) २०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा घटाइएको सामूहिक हत्या थियो, जसमा २८ जना माओवादी समर्थक व्यक्तिहरुले अनाहकमा ज्यान गएको थियो । बर्बर र पाशविक यस हत्याकाण्डका अभियुक्तलाई न्यायको कठघरामा अझैसम्म उभ्याउन नसकिएको र समाजमा दण्डहीनता कायमै रहेको अवस्थामा मन्त्री रेणु यादवको अभिव्यक्तिले उक्त हत्याकाण्डमा निजको दलको समेत सहभागिता भएको स्वीकारोक्ति सार्वजनिक भएको छ।’

Back to top button