मध्य मर्स्याङ्दीमा विद्युत् उत्पादन घट्दैँ

काठमाडौं । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्य मर्स्याङ्दीमा जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्दैँ गएको छ ।

हिउँ नपग्लिएका कारण मर्स्याङ्दी नदीमा पानीको बहाव कम भएको छ । योसँगै विद्युत् उत्पादन कम हुँदै जान थालेको छ । अहिलेसम्म ३० मेगावाट बिजुली उत्पादन घटेको आयोजनाका प्रमुख पवन बस्नेतले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पुस लागेसँगै आयोजनाको विद्युत् घट्दै हाल ३८ देखि ४० मेगावाटसम्म बिजुली उत्पादन हुने गरेको छ ।

चैत अन्तिमसम्म उत्पादन घट्ने र वैशाख लागेपछि मात्र उत्पादन बढ्ने देखिन्छ ।” बेंसीशहर नगरपालिका–१ दलालस्थित जिल्लाकै पहिलो तथा ठूलो ७० मेगावाट क्षमताको उक्त आयोजनामा विगतका वर्षमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो ।

सन् २००० मा निर्माण सुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन गरिएको हो । कूल रु २७ अर्ब २० करोडको लागतमा आयोजना निर्माण भएको हो ।

यस्तै, जिल्लाका अन्य जलविद्युत् आयोजनामा समेत पानीको बहाव कम हुँदा विद्युत् उत्पादन घट्न थालेको छ । पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दीलगायत आयोजनामा बिजुली उत्पादन कम हुदै गएको छ ।

मर्स्याङ्दी गाउँपालिका–६ र ७ स्थित ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा भने गत असारमा गएको बाढी पहिराले बाँधस्थलमा क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द छ ।

आयोजनाका दुईवटै टर्बाइन फेर्ने, अन्य संरचना निर्माणलगायत कार्य जारी रहेको आयोजनाले जनाएको छ ।

Back to top button