कोरोनाको ‘हटस्पट’ बन्यो विराटनगर

पदेशमा भएको कूल संक्रमितको ४३ प्रतिशत संक्रमित विराटनगरमा

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणको ‘हटस्पट’ विराटनगर महानगर बनेको छ । महानगरमा दैनिक संक्रमितको संख्या थपिँदै गएर शुक्रबारसम्ममा प्रदेशकै कूल संक्रमितको ४३ प्रतिशत संक्रमित पुग्दा पनि बजार क्षेत्रको भिड नियन्त्रण नहुँदा कोरोना संक्रमण अनियन्त्रित हुने जोखिम बढेको हो । कोरोना संक्रमणको लक्षण देखिएका सबै व्यक्ति एन्टिजेन तथा पीसीआर परीक्षण नगराउने गरेकाले पनि संक्रमण दर बढिरहेको छ ।

यस प्रदेशभरिमा कूल सक्रिय संक्रमितको संख्या ५ हजार २०४ रहेकोमध्ये ४२ दशमलव ६२ प्रतिशत अर्थात् २ हजार २१८ विराटनगर महानगरमा रहेको छ । कोरोना संक्रमण बढ्दै गएकाले विराटनगरस्थित कोशी अस्पतालका ९४ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । कर्मचारीहरुमा संक्रमण देखिएपछि जिल्ला अदालत मोरङ, मालपोत तथा भूमि सुधार कार्यालयको सेवा ठप्प पारिएको छ । यहा“का अधिकांश सरकारी कार्यालय, प्रदेश सरकारका मन्त्रालयहरुका कर्मचारी संक्रमित हुनुभएको छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा कच्चा पदार्थ तथा मालबस्तु लिएर भारतबाट दैनिक १ हजार बढी सवारी साधन विराटनगर भित्रिने गरेका छन् । मालबाहक सवारी लिएर आउने चालक र दुई जनासम्म सहचालक गरी दैनिक ३ हजार बढी व्यक्तिले यहाँका चिया, नास्तालगायतका पसलमा स्वास्थ्य सुरक्षा मापदण्ड नै नअपनाइ जाने गरेकाले संक्रमण दर बढेको हो । दैनिक संक्रमितको संख्या बढ्दै गए पनि यहाँका उद्योग, कलकारखाना, पसल, व्यवसाय र बजारमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गरिरहेको देखिदैन ।

जिल्ला प्रशासन कार्यालय मोरङले मास्क नलगाउनेलाई १ सय र उद्योग, व्यवसायमा स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाउने उद्योगीलाई ५ हजारसम्म जरिवाना गर्ने निर्णय गरेको छ । तर त्यसको कार्यान्वयन नहुँदा यहाँ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन अटेरी हुने गरेको पाइएको हो । कोरोनाको तेस्रो भेरिएन्टमा संक्रमितको स्वास्थ्यमा कम असर पार्ने हल्लाले पनि लक्षण देखिएका व्यक्तिहरु प्नि मौसमी रुघाखोकी भन्दै परीक्षण गराउन नजाने गरेको देखिन्छ ।

कोशी अस्पतालका प्रमुख डा. चुमनलाल दासले स्वास्थ्य सुरक्षा मापदण्डको पालनासँगै खोप सेवा प्रभावकारी बनाउनुको विकल्प नभएको बताउनुभयो । ‘सर्वसाधारण सबैलाई कोरोनाबाट बच्ने उपाय बारे जानकारी भइसकेकाले सबैले आफै सचेतता अपनाउनुको विकल्प छैन,’ उहाँले भन्नुभयो, ‘सर्वसाधारणले अनावश्यक घर बाहिर ननिस्किने र लक्षण देखिए पीसीआर वा एन्टिजेन परीक्षण गराएर होमआइसोलनमा बस्नु अपरिहार्य छ ।’ सर्वसाधारणले सचेतता नअपनाए स्थिति भयावह हुने दासको भनाई थियो । उहाँले कोशी अस्पतालमा हालसम्ममा चिकित्सक तथा स्वास्थ्यकर्मी नै ८३ जना संक्रमित भइसकेकाले बिरामीलाई सेवा दिन पनि कठीनाइ भइसकेको विषय सबैले बुझ्नु आवश्यक भएको बताउनुभयो ।

कोरोना संक्रमणको लक्षण देखिएका सबै व्यक्ति एन्टिजेन र पीसीआर परीक्षण नगराइरहेकाले पनि महानगरमा संक्रमण दर बढ्दै गएको छ । विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले कोरोनाको तेस्रो भेरिएन्टमा संक्रमितको स्वास्थ्यमा कम असर पार्ने गरेकाले परीक्षण गराउन नआउने गरेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने विषय कार्यान्वयनमा नआउ“दा पनि बजार क्षेत्रको भिड नियन्त्रणमा समस्या भएको उहाँको भनाई थियो ।

बस्नेतका अनुसार महानगरमा ११ देखि १७ वर्ष उमेर समूहका २६ हजार रहेको विद्यार्थीहरुका लागि खोप अभावमा खोप अभियान सञ्चालन गर्न सकिएको छैन । प्रदेश २ लगायतका विभिन्न जिल्लाका विद्यार्थीहरु बस्ने विराटनगरमा विद्यार्थीहरुलाई खोप सेवा प्रदान गर्न नसकिएकाले पनि संक्रमण बढिरहेको उहाँले बताउनुभयो ।

महानगर प्रमुख भीम पराजुलीले ज्येष्ठ नागरिक, अपांग, अशक्तमा कोरोना संक्रमणको लक्षण देखिए घर घरमा मोवाइल भ्यानमा गएर स्वाव संकलन गर्ने व्यवस्था गरेको तर त्यसको लागि कसैले सम्पर्क नगर्ने गरेको बताउनुभयो । ‘अतिथि सदनमा रहेको स्वाब संकलन केन्द्रमा पनि कोरोना संक्रमणको लक्षण देखिएका व्यक्तिहरु कम स्वाब दिन आउन गरेकाले पनि संक्रमण दर बढिरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि शुक्रबारबाट महानगरको १९ वटै वडाबाट खोप अभियान सुरु गर्न लागेका छौं ।’ उहाँले वडा ३, ५ र १५ मा डेडिकेटेड खोप केन्द्र राखेर खोप सेवा प्रवाह गर्ने तयारी गरेको बताउनुभयो ।

Back to top button