आइपीएलको अक्सनका लागि १५ नेपालबाट खेलाडीको नाम दर्ता

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएका छन् ।

आईपीएल २०२२ को प्लेअर अक्सनका लागि कुल १ हजार २ सय १४ खेलाडीले नाम दर्ता गराएको र त्यसमा नेपालबाट १५ खेलाडी रहेको बीसीसीआईले जनाएको छ ।

खेलाडी दर्ताका लागि २० जनवरीसम्मको समयसीमा तोकिएको थियो । जसमा भारतीय ८ सय ९६ र विदेशी ३ सय १८ खेलाडीले नाम दर्ता गराएका हुन् ।

आगामी फेब्रुअरी १२ र १३ मा बेंगलुरुमा हुने मेगा अक्सनबाट १० टीमले खेलाडीहरू छनोट गर्नेछन् । अक्सनका लागि दर्ता गरेका खेलाडी मध्ये २ सय ७० खेलाडी क्याप्ड छन् । यस्तै ९ सय ३ खेलाडी अनक्याप्ड छन् भने ४१ खेलाडी एसोसिएट प्लेअर अन्तर्गत छन् ।

पछिल्लो सिजन नेपालका सन्दीप लामिछाने मिनी अक्सनमा समावेश भए पनि कुनै टिमले अनुबन्ध गरेन । आईपीएलमा हरेक टिमले बढीमा २५ जनासम्म टिममा राख्न पाउनेछन् । अक्सनबाट बढीमा २१७ खेलाडी मात्र छनोट हुने बीसीसीआईले विज्ञप्तिमार्फत जनाएको छ । यसपटक ठूला खेलाडीहरूसमेत अक्सन पुलमा जानेछन् ।

डेविड वार्नर, मिचेल मार्श, कागिसो रबडा, रविचन्द्र आश्विन, युजभेन्द्र चाहल, शिखर धवन, श्रेयास अयेर, इशान किसन, दिनेश कार्तिक, भुवनेश्वर कुमारजस्ता खेलाडी अक्सनमा समावेश छन् । अक्सनका लागि भारत बाहेक अष्ट्रेलियाबाट सबैभन्दा धेरै ५९ खेलाडीले नाम समावेश गरेका छन् ।

यस्तै दक्षिण अफ्रिकाबाट ४८ र वेष्ट इन्डिजबाट ४१ खेलाडीले नाम दर्ता गराएका छन् । एसोसिएट राष्ट्रमध्ये नेपालबाट १५ जनाले नाम दर्ता गर्दा अमेरिकाबाट १४, नामिबियाबाट, ओमानबाट ३ तथा भुटान, नेदरल्याण्ड्स, स्कटल्याण्ड र यूएईबाट समान एक/एक जना खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका छन् ।

Back to top button