माओवादी केन्द्रले अध्यक्ष प्रचण्डलाई दियो जनपरिचालनको जिम्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले कोरोना महामारी नियन्त्रणमा नआएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय गरेको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले जनपरिचालनसँगै बाँकी रहेका संगठनात्क कामहरु टुंग्याउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको हो।

यस्तै, माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले एमसीसीको बारेमा चर्को बहस भइरहेकोले बैठकमा त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको बताउनुभयो।

‘अहिलेको कोभिडको स्थिति अलि चर्को छ। त्यसकारणले कोभिड अलि मत्थर नभएसम्म बैठक स्थगित गर्ने तर तत्काल कामको निम्ति अध्यक्ष कमरेडले कामहरु अघि बढाउने, केही तलका संगठनात्मक कामहरु बाँकी रहेका छन् भने प्रदेश जिल्लाहरुले टुंग्याउने। त्यसपछि केही कामहरु खास गरेर जनपरिचालनका कामहरु अध्यक्ष कमरेडलाई दिने भन्ने निर्णय भयो’, उहाँले भन्नुभयो, ‘अर्को एमसीसीको कुरा अलि चर्को ढंगले उठेको छ।

त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ। नेता महराले बैठकमा चुनावमा सकेसम्म कम खर्चमा तीन वटा चुनाव एकैपटक गर्न पाए राम्रो भन्ने ढंगले छलफल चलिरहेको जानकारी दिनुभयो ।

Back to top button