अझै निर्माण सुरु भएन प्रदेश १ मा सिलन्यास भएको अस्पताल

विराटनगर । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ मंसिर १५ गते प्रदेश १ मा प्रदेशस्तरीय सरुवा रोग अस्पताल र प्रदेशस्थित १४ वटा जिल्लामा ८६ वटा आधारभूत अस्पतालको एकै पटक सिलान्यास गर्नुभएको थियो ।

तर त्यसलाई कार्यान्वयनमा लानु अघि नै ओली नेतृत्वको सरकार परमादेशका कारण ढल्न पुगेपछि अस्पताल निर्माणको काम अलपत्र हुन पुगेको छ। वर्तमान सरकारले अघिल्लो सरकारले सिलन्यास गरेकै कारणले त्यसतर्फ ध्यान दिएको छैन । त्यसैले हालसम्म अस्पतालको निर्माणको कामले तिब्रता पाउन सकेको छैन ।

मोरङको सुन्दरहरैचा नगरपालिका ११ कर्जुनामा प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिलान्यास गरिए पनि हालसम्म निर्माणको काम सुरु हुन नसकेको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वामित्वमा रहेको १४ बिघा जग्गामा सरुवा रोग अस्पतालको सिलान्यास गरिएको हो ।

सरुवा रोग अस्पताल निर्माणका लागि स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्षमा ८ करोड बजेट प्रदेश १ को सामाजिक बिकास मन्त्रालयमा पठाएको थियो । तर अस्पताल निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले हस्तक्षेप गरेकाले बजेट खर्च हुन नसकेको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले बताउनुभयो ।

यस्तै, मोरङको बेलबारी, लेटाङ, पथरीशनिश्चरे र रतुवामाई नगरपालिका र कानेपोखरी, केराबारी, बुढीगंगा गाउँपालिकामा आधारभूत अस्पताल निर्माणका लागि बजेट आएको छ । लेटाङ नगरपालिका र बुढीगंगा गाउँपालिकामा १०/१० शय्या र अन्यमा १५/१५ शय्याको अस्पताल निर्माणका लागि बजेट आएको हो ।

त्यसमध्ये रतुवामाई नगरपालिकामा जग्गाको सुनिश्चितता नभएपछि बजेट फिर्ता गएको प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्सालले बताउनुभयो । अन्य ६ वटा पालिकामा अस्पताल निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भएर बेलबारी, पथरीशनिश्चरे र कानेपोखरीमा मात्रै निर्माण काम सुरु भएको जनप्रतिनिधिहरुले बताउनुभयो ।

यस्तै, ताप्लेजुङको ६ वटा स्थानीय तहमध्ये सिरीजङ्घा गाउँपालिकामा मात्रै टेण्डर प्रक्रिया सुरु भएको छ भने अन्य पालिकामा अस्पताल निर्माण प्रक्रिया सुरु हुन नसकेको जनप्रतिनिधिहरुले बताएका छन् ।

आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष विश्वनाथ सिटौलाले सरकारले समयमै बजेट नपठाइदिएकाले निर्माण कार्य समयमै शुरू गर्न नसकिएको गुनासो पोख्नुभयो ।

इलामको सन्दकपुर गाउँपालिकामा १५ शय्याको अस्पताल बनाउनका लागि शिलान्यास गरेको वर्ष दिन हुँदा समेत निर्माण कार्य अगाडि बढ्न सकेको छैन । सन्दकपुर गाउँपालिका अध्यक्ष इन्द्र राईले जग्गा मिलाउने काम सकिएर निर्माण काम सुरु हुन लागेको बताए ।

‘तराई, पहाड र हिमाली जिल्लामा एउटै मापदण्ड भएकाले पनि निर्माण कार्यमा ढिलाई भएको छ,’ उनले भने, ‘तराई, पहाड र हिमालका लागि स्टिमेट र डिजाइनसमेत एउटै भएकाले पहाडी र हिमाली जिल्लामा भूगोल मिल्दो जग्गा भेट्टाउन समय लागेकाले निर्माणमा ढिलाई भएको हो ।’

विपद्को समयमा आधारभूत स्वास्थ्य सेवा गाउँगाउँमा पुर्‍यउने लक्ष्यसहित सरकारले स्वास्थ्य उपकरण र जनशक्ति सहितका आधारभूत अस्पताल सबै स्थानीय तहमा बनाउने घोषणा गरेको थियो तर समयमा बन्न नसक्दा कोरोनाको तेस्रो लहर फैलिँदा पनि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाउनबाट सर्वसाधारण वञ्चित भएका हुन् ।

यस्तै, झापामा ११, मोरङ, पाँचथर, इलाम, संखुवासभा, ओखलढुंगामा ७/७, ताप्लेजुङ, भोजपुर, खोटाङमा ६/६, तेह्रथुम, सोलुखुम्बु र सुनसरीमा ५/५, धनकुटामा ४ र उदयपुरमा ३ वटा अस्पताल सिलान्यास भएको थियो । अधिकांश अस्पतालको निर्माण काम सुरु हुन सकेको छैन । केहीमा टेण्डर प्रक्रिया सकिएको छ भने केहीमा टेण्डर प्रक्रिया सकेर निर्माण कार्य सुरु भइरहेको पालिका अध्यक्षहरुको भनाई छ ।

कत्तै जग्गा विवाद, कतै जनप्रतिनिधिबीचको स्वार्थको लडाईं त कतै आफ्नो मान्छेलाई टेण्डर पार्ने प्रतिस्पद्र्धाले अस्पताल निर्माण चुनौतिपूर्ण बनेको जनप्रतिनिधिहरुको भनाई छ ।

Back to top button