नोबेल कलेजविरुद्धको आन्दोलन रोक्न सीडीओको निर्देशन

विराटनगर । नोबेल शिक्षण कलेज विराटनगरले अतिरिक्त शुल्क मागेको भन्दै आन्दोलनरत विद्यार्थीलाई जिल्ला प्रशासन कार्यालय मोरङले आन्दोलनका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आइतवार एक निर्देशन जारी गर्दै आन्दोलन स्थगन गर्न भन्नु भएको हो ।

एमबीबीएसमा भर्ना हुने विद्यार्थीहरूलाई नोबेलले चिकित्सा शिक्षा आयोगबाट निर्धारण भएको भन्दा बढी रकम लिएको विषयमा अनुसन्धान गरी कानून बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढिसकेको जारी निर्देशनमा भनिएको छ ।

कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोनका कारण मोरङमा कोभिडको संक्रमण अत्यधिक बढेकोले आन्दोलनका कार्यक्रम स्थगित गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

यता विद्यार्थी संगठनका नेताहरूले भने अतिरिक्त शुल्क फिर्ता लिएर निर्वाधरुपमा विद्यार्थीलाई पठनपाठन नगराएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् । विद्यार्थीले न्याय नपाएसम्म आन्दोलन जारी रहने विद्यार्थी नेता वासिम आलमले बताउनु भयो ।

यस विषयमा प्रदेश सरकारलेसमेत छानविन समिति बनाएको छ ।

Back to top button