सामूहिक बलात्कार घटनाको अधिकारकर्मीद्धारा अनुगमन

विराटनगर । मोरङको सुन्दरहरैचा–४ बलियामा गत शुक्रबार ३१ वर्षीया महिला सामूहिक बलात्कारमा परेको घटनाका विषयमा इन्सेक प्रदेश १, कार्यालय विराटनगर सहित अधिकारकर्मीको टोलीले आज पीडित र पीडित पक्षसँग भेट गरी घटनाका विषयमा अनुगमन गरेको छ ।
सामूहिक बलात्कार घटनामा पीडित महिलाको स्वास्थ्य अवस्थाकाबारेमा अधिकारकर्मीहरूले कोशी अस्पतालमा पुगेर पीडितको अवस्थाका बारेमा जानकारी लिएका छन् । पीडितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएपछि पीडितको आर्थिक अवस्थालाई मध्यनजर गरी आर्थिक सहयोग गरिएको इन्सेक प्रदेश १ प्रमुख सोमराज थापाले बताउनु भयो । घरेलु कामदारका रूपमा कार्यरत पीडितले तत्काल काम गर्न सक्ने अवस्था नभएकाले आर्थिक सहयोग गरिएको थापाले बताउनु भयो । पीडितलाई इन्सेकले ५ हजार रुपियाँ र अन्य संस्थाले गरी १५ हजार रुपियाँ आर्थिक सहयोग गरिएको छ ।

पीडितका बाबुले अधिकारकर्मीसँगको भेटमा दोषीलाई कारबाही र आफूहरूले न्याय पाउने पर्ने बताउनु भयो । पीडितका बाबुले अधिकारकर्मीहरूलाई न्यायका लागि पहल गरीदिन आग्रह गर्नुभयो । अधिकारकर्मीको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारीलाई भेटर पीडितले न्याय पाउनु पर्ने विषयम ाध्यानाकर्षण गराएको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले घटनालाई गम्भीर रूपमा लिईएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ घटना सम्वेदनशील छ । शङ्का आशङ्का गर्नु पर्दैन पीडितले न्याय पाउँछ ।’
सामुहिक बलात्कार घटनाका दुई आरोपी अर्जुन श्रेष्ठ र उनका भाइ सुरज भनिने मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ । एक जना अझै परार छन् ।
घटनाको इन्सेक, एवीसी नेपाल, साझा सवालका लागि साझा मञ्च (कोकन), ओरेक, माईती नेपाल, आफन्त नेपाल, साना हातहरु, सिविनका प्रतिनिधिहरुले अनुगमन गरेका थिए ।

Back to top button